मेसीको निर्णायक गोलपछि बार्सिलोना पहिलो पल्ट ला लिगाको शीर्षस्थानमा


लिओनल मेसीले खेल सकिन ४ मिनेटमा गरेको निर्णायक गोलका कारण बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत आइतबार राती पौने एघार बजे सकिएको खेलमा एट्लेटिको म्याड्रिडलाई २–१ ले पराजित गरेको छ। कोपा डेल रेमा केही समय अगाडि पनि बार्सिलोनाले २–१ कै अन्तरमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको थियो। एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको यस खेलमा पहिलो हाफमा घरेलु टोलीले ठूलो दबाब बनाएको थियो। तर, दोस्रो हाफमा एट्लेटिको म्याड्रिडको सुरक्षा कवजलाई चिर्दै बार्सिलोना लामो अन्तरालपछि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। आजै राती रियल म्याड्रिड र भिलारेलविरूद्धको खेलले यो साता ला लिगाको शीर्षस्थानमा कुन टोली रहने हो यसको निक्यौल हुनेछ। एट्लेटिकोलाई पराजित गरेपछि बार्सिलोना २४ खेलमा ५४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। भिलारेलले रियल म्याड्रिडलाई बराबरीमा रोकेको खण्डमा बार्सिलोना साताभरिका लागि शीर्षस्थानमा रहने पक्का छ। रियलको २२ खेलमा ५२ अंक छ। बार्सिलोनाका लागि ब्राजिलियन मिडफिल्डर राफिन्हाले ६४ मिनेटमा पहिलो गोलको अग्रता दिलाएका थिए। तर, ७० मिनेटमा डिएगो गोडिनले कोकेको फ्रिकिकमा उत्कृष्ट हेडिङ गोल गरे। मेसीले ८६ मिनेटमा लुइस सुआरेजको पासमा डिबक्सबाट गोल गरेपछि बार्सिलोनाले महत्वपूर्ण तीन अंक बटुल्यो। मेसीको ला लिगामा २१ गोल पुरा भएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.