एउटै मञ्चमा बसेर प्रचण्ड र बाबुरामले भने- 'अब हामी मिल्नुपर्छ'

काठमाडौंः १४ महिनापछि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई एउटै मञ्चमा देखिएका छन्।
माओवादी केन्द्रका सांसद स्व. भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ को बिमोचन कार्यक्रममा सोमबार १४ महिनापछि प्रचण्ड र बाबुराम एउटै मञ्चमा देखिएका हुन्। स्वर्गीय भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ नामक पुस्तकको बिमोचनसमेत प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्तिका संयोजक भट्टराईले संयुक्त रुपमा गरेका थिए।
स्वर्गिय सांसद भक्तिप्रसाद पाण्डेको सङ्घर्ष यात्राको बिमोचन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताएका हुन्। प्रचण्डले भने,‘गणतन्त्र ल्यायौं, नयाँ संविधान पनि आयो, संघीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता सबै उपलब्धि हासिल पनि भए। तर, यसलाई सिध्याउने षड्यन्त्र भइरहेका छन्। उपलब्धि जोगाउन हामी मिल्नुको विकल्प छैन।’
उनले अहिले माओवादी शक्तिहरु केही कमजोर भएको देखेर ऐतिहासिक उपलब्धिहरु उल्टाउने कोशिस भइरहेको समेत बताए। माओवादीका सबै धाराहरु एकतावद्ध हुनुको पर्नेमा जोड दिँदै उनले भने,‘संविधान कार्यान्वयनको चुनौतीपूर्ण कार्यभार बाँकी नै छ। त्यसैले अब हामी मिल्नु नै पर्छ।’
कार्यक्रममा एउटै मञ्चमा रहेका नयाँ शक्तिका संयोजक भट्टराईप्रति इंगित गर्दै प्रचण्डले बाबुरामले हतारमा निर्णय लिएको टिप्पणी गरे। उनले भने,‘संविधान त जारी भयो, तर कार्यान्वयन हुन अझै बाँकी छ। तर, बाबुरामजी हतारिनुभयो। उहाँको बहिर्गमन मलाई सामान्य लागेको छैन।’
मुलुकलाई २०४७ सालतिर फर्काउने कोशिश भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यो षड्यन्त्र सफल हुन नदिने बताए।
प्रचण्डले स्वर्गिय सांसद पाण्डेको अन्तिम चाहना आफूहरु मिल्नु नै रहेको स्मरण गरे। उनले भने,‘ भक्ति पाण्डेको एउटामात्रै चाहना थियो त्यो भनेको प्रचण्ड र बाबुराम एक ठाउँमा हुनु पर्छ भन्ने हो। अब एकै ठाउँमा हुनुको अरु विकल्प छैन।’
एक हुने सम्भावना जिवितै छः भट्टाराई
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पनि आफूहरु फेरि मिल्ने सम्भावना जिवितै रहेको बताए। उनले ऐतिहासिक उपलब्धी गुम्ने खतरा रहेको भन्दै फेरि पनि प्रचण्ड र आफू एक ठाउँमा उभिन सक्ने बताए। उनले भने,‘हिजो छुट्टीदा प्रचण्डजीसँग मेरो कुनै व्यक्तिगत दुश्मनी थिएन र अहिले पनि छैन। हामी परिस्थितिले अगल भएका हौं। मिल्न सक्ने सम्भावना अहिले पनि उत्तिकै छ।’
भट्टराईले पनि ऐतिहासिक उपलब्धी गुम्न नदिन सवै मिल्नुको विकल्प नरहेको बताउँदै भट्टराईले भने,‘माओवादीसँग मिल्ने सम्भावना भोलि पनि छ। तर, पुरानो माओवादीको सोचले हुँदैन, पहिला विचार परिवर्तन गर्नुपर्छ।’
प्रचण्ड–बाबुराम मिल्नुको विकल्प छैनः शर्मा
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि प्रचण्ड र बाबुराम एक ठाउँमा हुनुको विकल्प नरहेको बताएका थिए। उनले भने,‘तपाईँहरु छुट्टिएर गल्ती गर्नु भयो। अब मिल्नुस्।’ उनले प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन नेकपा माओवादीसँग आफू विद्रोही नेकपा मसालको संयोजक रहँदा २०५७ सालमा पार्टी एकता गरेको स्मरण समेत गरे।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.