ज्ञानेन्द्रको सन्देशको आशय देशप्रतिको माया हो : अध्यक्ष ओली



दमक, पुस २७ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशहितको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले भने, ‘सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत देखिन्छ ।’ निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै ओलीले मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको बताए । उनले संविधान संशोधन विधेयक संसदमा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दाबी गरे । संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको विचार थियो । उनले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागेमात्र एमालेले सरकारलाई साथ दिने प्रष्ट पारे । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तैमात्र भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति मायामात्र ज्ञानेन्द्रको आशय हो,’ उनले भने । (रासस)

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.