मध्यरातमा लड्डु लिएर डीआईजी जयबहादुर चन्द गृहमन्त्री निधि निवास पुगेपछि के भो ?

काठमाडौं । आगामी फागुन ३ गते नेपाल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अवकाश पाउँदैछन् । तर, उनको ठाउँमा नियुक्ति पाउन अहिले चारजना डीआईजीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।
चारैजना कसरी आईजी बन्ने भन्ने अभियानमा सक्रिय ढंगले लागेका छन् । खासगरी डीआईजी वरीयताको १ नम्बरमा रहेका नवराज सिलवाल र जयबहादुर चन्दबीच को आईजी बन्ने भन्ने चर्चाले नेपालको राजनीति नै तरंगित बनाएको छ ।
कतिले त नेपाल प्रहरीको नयाँ आईजी नियुक्ति प्रकरणले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै ढल्ने विश्लेषणसमेत सुरु गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच भावी आईजीको विषयमा फरक फरक नाम आएपछि प्रचण्ड सरकार नै ढल्ने हो कि भन्ने चर्चा उत्कर्षमा पुगेको छ ।
नयाँ आईजी नियुक्ति गर्नुअघि चारमध्ये कसलाई एआईजीपीमा बढुवा गर्ने भन्ने सहमति कांग्रेस र माओवादी केन्द्रबीच हुन नसक्दा बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित हुन पुगेको छ ।
नियमित रूपमा बिहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठकमा एकजना डीआईजीलाई एआईजीपीमा बढुवा गरेर शुक्रबार प्रधानमन्त्री प्रचण्ड फ्रान्स जाने तयारीमा थिए ।
आईजीको दौडमा रहेका चन्दको दौडधूप
जसरी पनि आईजी नियुक्ति भएरै छाड्ने अभियानमा रहेका डीआईजी चन्दलाई कांग्रेस सभापति देउवाको दह्रो समर्थन छ । तर, गृहमन्त्री निधि डीआईजी सिलवाललाई बनाउनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री प्रचण्ड पनि १ नम्बर वरीयताकै डीआईजीलाई आईजी बनाउनुपर्ने मनस्थितिमा छन् ।तर, बुधबार दिनभर र रातभरि नै ‘चन्द आईजी नियुक्त हुने’ भन्दै चर्चा चल्यो । यही चर्चाबीच बुधबार मध्यरात डीआईजी चन्द गृहमन्त्री निधि निवास पुगे ।
आफू आईजीमा नियुक्त हुन लागेको खुसियालीमा उनी लड्डु बोकेर गृहमन्त्री निवास पुगेको स्रोतले बतायो । चन्दले गृहमन्त्रीसमक्ष अब आफू आईजी हुने पक्का भएको भन्दै जानकारी गराएका थिए ।
गृहमन्त्री निकट स्रोतका अनुसार निधिले ‘तपाईलाई कांग्रेस सभापति देउवाज्यूको सहयोग र समर्थन छ, तर मन्त्रिपरिषद्मा प्रस्ताव मैले लाने हो, तपाई वरीयताको तेस्रो नम्बरमा हुनुहुन्छ, म माथि प्रधानमन्त्री हुनुहुन्छ, उहाँले के गर्नु हुन्छ ? त्यो मलाई थाहा भएन’ भनेपछि चन्द चुपचाप फर्केका थिए ।
गृहमन्त्री निधिको सोही अडानका कारण बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।-मिडियाएनपीबाट

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.