एमाले र मोर्चाबीच यसरी हुँदैछ गोप्य सहमति

१ फागुन, काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच सहमतिको प्रयास सुरु भएको छ ।

फाइल फोटो

लामो समयको संवादहिनता तोड्दै दुबै पक्षका दोस्रो तहका नेताहरुले छलफल अघि बढाएका हुन् । संविधान संसोधन विधेयक पास नभए स्थानीय चुनाव हुन नदिने मेधशी मोर्चाको चेतावनी र संसोधन पास हुन नदिने एमालेको अडानका कारण अहिले राजनीतिक गतिरोध उत्पन्न भएको छ ।
दुबै पक्षको छलफल कुनै ठोस निश्कर्षमा नपुगेपनि संवाद सकारात्मक रहेको नेताहरुले बताएका छन् । छलफलमा सहभागी नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले पहिले प्रतिनिधि सभाको चुनाव गर्ने विषयमा मोर्चासँग सहमति जुट्न सक्ने संभावना रहेको बताए ।
‘अब जेठमा स्थानीय चुनाव हुने संभावन देखिँदैन, त्यसो हुँदा माघ ७ भित्र तीन तहको चुनाव संभव हुँदैन, सचिव ज्ञवालीले भने, त्यसपछि आउने संकट टार्न पहिले प्रतिनिधि सभा चुनाव उत्तम विकल्प हुन सक्छ ।’
मधेशी मोर्चा पनि पहिले प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने पक्षमा छ । तर मोर्चामा एकरुपता नभएका कारण ठोस निश्कर्षमा पुग्न समस्या भएको सचिव ज्ञवालीको भनाई छ । उनका अनुसार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र मोर्चामा आवद्ध अन्य दलका नेताहरुको कुरा फरक छ ।
मोर्चाका अरु घटक अलि लचक भएपनि यादव नेतृत्वको फोरमका नेताहरुको अडानका कारण समस्या हुन सक्ने एमाले नेताहरुको बुझाइ छ । मोर्चा घटक तराइ मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले एमालेसँगको छलफल सकारात्मक रुपमा अघि बढेको भन्दै औपचारिक बैठकका लागि आधार तयार भइरहेको बताए ।
संविधान संसोधन विधेयक एमालेकै प्रस्ताव भएकाले त्यसलाई पारित गर्न एमाले लचक हुने उनको भनाई छ । ‘उहाँहरुको सरकार एक दुई महिना टिकेको भए उतिबेलै कुरो मिलिसक्थ्यो, शुक्लाले भने, अहिले सरकारबाट बाहिरिनुपरेको रिसले यो निकास रोक्नुभएको हो, हामी कुरा मिलाउने प्रयासमा छौं ।’
दुबै पक्षले आगामी फागुन १० गतेका लागि बोलाइएको संसद बैठक अघि नै सहमति खोज्ने प्रयास गरेको बताएका छन् । दोस्रो तहका नेताबीचको छलफल पछि शीर्ष तहमा बसेर सहमति गरिने नेताहरुको भनाई छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.