प्रचण्ड, ओली र देउवाको सत्तास्वार्थले नेपाल अध्यारोतिर

प्रयास पराजुली
२९ माघ, काठमाडौं ।
हुनत अहिले नेपाल विद्युत प्राधिकरणका प्रमुख कूलमान घिसिङको योजना र मेहनतमा काठमाडौंसहितका मुख्य सहरमा लोडसेडिङ हटाएर उज्यालो बनाउने तयारी तीव्र छ ।

फाइल तस्बिर

अध्यारोमा कष्टकर दैनिकी बेहोर्दै आएका नेपालीका लागि लोडसेडिङ नहुनु भनेको निक्कै ठूलो बरदान हो ।
तर, लोडसेडिङ अन्त्य हुने क्रम विस्तारै बढेसँगै देशमा भने राजनीतिक लोडसेडिङ अन्त्य हुने सामान्य संकेतसम्म देखिएको छैन । समकालीन नेपालका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले राजनीतिकलाई कसरी लिन्छन्, व्यवहार गर्छन्, जनताप्रति कति उत्तरदायी हुन्छन् भन्ने नियतसँग नेपाल र नेपालीको उज्यालो र अन्धकार जोडिएको छ ।
जनताको हितमा यी दलका नेताहरुले लिने व्यवहारिक र व्यक्तिगत स्वार्थरहित प्रयासले हामीलाई उज्यालोतिर यात्रा गराउँछ । देशमा राजनीतिक स्थिरता ल्याएर विकास निर्माण, अवसरको ढोका खोल्ने जस्ता काम गर्दा हामी सबै देशलाई उज्यालोतिर डोहोर्याउन सक्छौं ।
होइन, यी काम नगरी व्यक्तिगत महत्वकांक्षा मात्र देखाउँने र दलीय स्वार्थमात्रै हेर्ने हो भने लोडसेडिङ अन्त्य भए पनि हाम्रा अझै कैयौं वर्ष अन्धकारमा बित्नेछन् । किनकी जनताले गरिखान पाएनन्, आर्थिक अवसरको ढोका खुलेन, व्यक्ति र राज्य समृद्धितिर गएनन् भने देश पछौटेपनको चपेटामा पर्नेछ । जसरी अहिले देश यस्तै चपेटामा छटपटिरहेको छ ।

भन्छन् गर्दैनन्

शेरबहादर देउवा, प्रचण्ड र केपी ओलीहरु देशलाई रातारात समृद्धिमा पुर्याउनका लागि लाखौंलाई अवसरको ढोका खोल्ने सार्वजनिक भाषण गर्छन् । तर, पहुँचमा पुग्दा साधारण मान्छेले गरिखान पाउनेगरी अवसरको ढोका खोल्न कुनै कदम चाल्दैनन् ।
अवसर त तिनीहरुलाई हुन्छ जो उनीहरुको दलको सदस्यता लिएर उनीहरुसँग रातोदिन उठवस गर्न सक्छ । तर, बाँकीले तल्लो तहका कार्यकर्ता भएर पनि उनीहरुले अवसर पाउँदैनन् । उनीहरुलाई चुनावमा जितेर माथि पुग्ने अनि शक्ति, सत्ताको लागि भर्याङ मात्रै बनाइन्छ । उनीहरुसहित देशमा गरिखाने वर्गलाई हुने गरी उनीहरु योजना बुन्दैनन् ।
राजनीतिलाई स्थायित्व गराउनतर्फ होइन ८-९ महिनामा सत्ता फेर्न तिकडम बाहेक समग्र देश निर्माणका योजना उनीहरुको बैठकमा बन्दैनन् ।
अहिले देउवा, प्रचण्ड र ओलीहरुले चाहने हो भने नेपालमा असम्भव भन्ने केही कुरा पनि छैन । यी तीन दलका नेता मिलेर देश बनाउने प्रण गर्ने हो भने पनि रातारात देशलाई निर्माणको बाटोमा डोहोर्याउन सकिन्छ । तर, ठूला राजनीतिक विषयमा मतान्तर नभए पनि चरम व्यक्तिवादी स्वार्थले यी नेताहरु बाँधिदा राष्ट्रहितमा यिनीहरुको बुद्धि, विवेक र ज्ञान प्रयोग भइरहेको छैन ।
होइन यिनीहरुले हाम्रो राजनीति साँच्चै आम जनताको लागि हो भनेर दाबी गरे अनुसारको काम गर्न के ले छेकेको छ ? के ले रोकेको छ ? नेपाल वर्षौसम्म अन्धकारमा रह्यो । तर, एउटा कुशल प्रशासक आउँदा आयोजनाबाट थप बिजुली नथपिंदा पनि काठमाडौंसहितका देशका महत्वपूर्ण सहरलाई लोडसेडिङ मुक्त बनाइन सकिने रहेछ भन्ने सन्देश दिइरहेका छन् ।
कूलमानले कुनै जादु गरेर अहिले लोडसेडिङ नभएको होइन, भएकै बिजुलीको सहज रुपमा व्यवस्थापनमा उनको ढंग पुगेको हो ।
पटकपटक सत्तामा पुगेका प्रचण्ड, ओली र देउवाहरुले समयमैं यस्ता व्यवस्थापनको योजना ल्याउन सकेको भए हामी अन्धकारमा बस्न पर्ने थिएन । तर, राज्यको सम्पत्तिमा देश, विदेश घुमेर त्यहाँको विकास, समृद्धि देखेर आउँदा पनि आफ्नो देशमा त्यस्तै नभए सोही प्रकृतिका विकास र समृद्धिका योजना बुन्न नेताहरुले किन सकेनन् ? यो अहम प्रश्न हो ।
लोडसेडिङ एउटा पाटो भो यस्ता आम जनतासँग जोडिएका धेरै विषयमा राज्यका संयन्त्र परिचालन गर्दा रातारात नतिजा निकाल्न सकिन्छ । यसमा नेताहरुले आफ्नो विभागीय जिम्मेवारी राम्रोसँग सम्हाल्दा मात्रै पुग्छ । कुनै ठूलो दिमागी क्षमता चाँहिदैन ।
तर, नेपालीको अफसोच नेताहरु नेपालमा सुधारको काम गर्दैनन् । उनीहरुलाई दलीय घेराभन्दा बाहिरको संसार चाहिएको छैन । राष्ट्रिय मुद्दा र आवश्यकतामा घोत्लिएर उनीहरुले ‘सिरिज’मा बैठक गरेको थाहा छैन, सुनिएको छैन ।
तर, सामान्य राजनीतिक विषयमा उनीहरुले हजारौं बैठक गरेका छन् तर, नतिजा निकाल्न सकिरहेका छैनन् । राजनीतिको विषय र पाटो एउटा एकातिर हो तर, आर्थिक अवसरका ढोका खोल्ने अर्कोतिर हो ।
राजनीतिलाई पूरै संस्थागत गर्छौ अनि आर्थिक विकासमा अघि बढ्छौं भन्ने जत्तिको मुर्खता केही हुँदैन । देशलाई अध्यारोमा लाने ‘मास्टरप्लान’मा शीर्ष नेता सहमत भएझै अवस्था अहिले। किनकी पछिल्लो १० वर्षयता हामी यस्तै आश्वासनमा चल्दै आएका छौं ।
अहिले आएको संविधानको राप र तापले फेरि १० वर्ष यसैगरी सामान्य अवस्थामा नै गुजार्ने निश्चित छ । देशलाई अध्यारोमा लाने ‘मास्टरप्लान’मा शीर्ष नेता सहमत भएझै अवस्था अहिले। देश निर्माणका लागि २० वर्ष कति महत्वपूर्ण र ठूलो हो भन्ने किन बुझ्दैनन् हाम्रा नेता ?
उनीहरुलाई कसरी हुन्छ सत्ता प्राप्तको मात्रै मोह छ । प्रधानमन्त्री भएका प्रचण्डलाई सत्ता टिकाउने र लम्ब्याउने मोह छ । देउवालाई कसरी हुन्छ सत्तामा पुग्ने दाउ र सोच छ । केपी ओलीलाई कसरी हुन्छ यो सत्तालाई भत्काउन सकिए फेरि सत्तामा पुग्ने भर्याङ बन्नेछ भन्ने छ । नेताहरुको यस्ता स्वार्थले हामीलाई अन्धकार भन्दा के दिन्छ ? कहाँ लान्छ ?

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.