रेखा थापाले राप्रपाभित्र ल्याइन ‘उथलपुथल’, उजुरी पुग्यो मुख्यालय


काठमाडौं, १ फागुन । कुनै बेला पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा रहेर उथलपुथल मच्चाएकी अभिनेत्री रेखा थापाले राप्रपामा पनि उस्तै उथलपुथल मच्चाउन थालेकी छिन् ।
नेपाली फिल्ममा हिट भएपनि पार्टीको राजनीतिमा उनी फ्लप बन्दै गएकी छिन् । रेखाका पछिल्ला क्रियाकलाप र गतिविधीले राजनीतिमा झन अलोकप्रिय बन्दै गइरहेको देखाएको छ । रेखा थापा राप्रपाभित्र अहिले पुराना र संगठन गर्दै आएका नेता तथा कार्यकर्ताहरूका लागि टाउको दुःखाइ बनेकी छिन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट रेखालाई महाधिवेशन प्रतिनिधी बनाउन अध्यक्ष कमल थापाले आफ्ना कोषाध्यक्ष उद्धब पौडेललाई ठाडो आदेश दिएपछि राप्रपाभित्र ‘रेखाकाण्ड’का नाममा उथलपुथल मच्चिएको हो । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा राप्रपाका नेता तथा कार्यकर्ताहरूले पार्टीमा ‘रेखाकाण्ड’ शुरु भयो भन्दै कुराकाट्न थालेको एक नेताले बताए ।
स्रोतका अनुसार रेखा थापाले आफू बस्दै आएको काठमाडौं क्षेत्र नम्बर ४ बाट महाविधेशन प्रतिनिधी बन्ने इच्छा कमल थापासमक्ष राखेकी थिइन् । रेखाप्रति उदार दिल देखाएका कमल थापाले पनि तत्काल आफ्ना कोषाध्यक्ष उद्धव पौडेललाई बोलाएर रेखा थापालाई महाधिवेशन प्रतिनिधी बनाउन कडा निर्देशन दिइहाले । यो निर्देशन कमल र रेखाका लागि ठूलो समस्या बन्दै गइरहेको छ ।
कमल थापाको ठाडो आदेशपछि फिल्म मेकरसमेत रहेका उद्धब पौडेलले आफूले कठिन अवस्थामा राप्रपाको संगठन गर्दै आएका नेता तथा कार्यकर्ताहरूलाई पाखा लगाएर रेखालाई महाधिवेशन प्रतिनिधी बनाउन नसक्ने कडा जवाफ दिएका थिए । तर, कमल थापाको आदेशका अगाडि धेरै अडान लिन सकेनन् । पौडेल र स्थानीय नेताहरूले रेखालाई प्रतिनिधी बनाएर कमल थापा समक्ष हाजिर गराएका छन् ।
माघ २३ गते भएको काठमाडौं क्षेत्र नम्बर ४ को महाधिवेशनमा रेखा अनुपस्थित थिइन् । उनी नगएपनि कमल थापाको आदेशमा प्रतिनिधी बनाएको राप्रपा उच्च स्रोतले जानकारी दिएको छ । रेखा थापाविरुद्ध चार नम्बर क्षेत्रका नेता कार्यकर्ताले पार्टी मुख्यालय धुम्बाराहीमा मौखिक उजुरी समेत दिएका छन् ।
सञ्चारकर्मी प्रकाश सुवेदीको जोडबलमा राप्रपा भित्रिएकी रेखा थापालाई गृह जिल्ला मोरङको सलकपुरमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले मन पराउँदैनन् । स्रोतका अनुसार आफ्नो गाउँ सलकपुरबाट पराजित हुने र स्थानीय नेता तथा कार्यकर्ताले असहयोग गर्ने भएपछि रेखाले कमल थापालाई भनेर काठमाडौं ४ बाट प्रतिनिधी बन्न दबाब दिएकी हुन् । उनको यो दबाब काठमाडौं ४ मा स्थानीय नेता तथा कार्यकर्ताका लागि ठूलो सजाय र चुनौती बन्न पुगेको छ ।
कमल थापाको प्रिय कार्यकर्ता बन्ने प्रयासमा रहेकी रेखा थापालाई प्रकाश सुवेदीले नै राप्रपामा अगाडि बढाउन खोजेको आरोप छ । रेखा आजकाल प्रकाश सुवेदीकै सरसल्लाहामा हिँड्ने गरेको स्रोतले जनाएको छ ।
कमल थापाको ‘निगाह’बाट प्रतिनिधी बनेकी रेखा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर प्रचार प्रसार नै शुरु गरेकी छिन् । राप्रपाभित्र रेखाको चुरीफुरी बढ्न थालेपछि संगठन गर्दै आएका नेता कार्यकर्ताहरू चकित परेको एक नेताले बताए ।
माओवादीमा रहेका बोला पनि उनलाई धेरैले मन पराएका थिएनन् । फिल्मका लागि उपयुक्त रेखा थापा पार्टीको राजनीतिमा उपयुक्त छैनिन् भन्नेहरू धेरै छन् । उनी आफ्नो व्यक्तिगत स्वार्थमा धेरै लाग्ने भएका कारण माओवादीमा टिक्न नसकेको आरोप छ । माओवादीकै क्रियाकलाप रेखाले राप्रपामा पनि दोहोराउँदै गएको चर्चा हुने गरेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.