अलैंची बेचेर जलविद्युतको मालिक बन्नुहोस् : ऊजामन्त्री शर्मा


ताप्लेजुङ : ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले अलैंचीसँग बिजुली साट्न ताप्लेजुङवासीलाई आग्रह गरेका छन् । शुक्रबार ताप्लेजुङमा मन्त्री शर्माले पार्टी कार्यकर्तासँगको भेटघाटमा अलैंचीबाट प्राप्त आम्दानी जलविद्युत कम्पनीको शेयरमा लगानी गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईको जीवनस्तरमा नसोचेको सुधार आउनेछ अनी यस क्षेत्रमा उत्पादन हुने अलैंचीले तपाईलाई जलविद्युतको मालिक बनाउनेछ ।’
उनले नेपालको पानी जनताको लगानी कार्यक्रममार्फत् आफूले समाजवादी कार्यदिशा लागु गरेको पनि बताए । संविधानले समाजवादको बाटोमा अघि बढ्न स्पष्ट मार्गदर्शन गरेको भन्दै मन्त्री शर्माले आफूले सोही अनुसार काम गरेको दाबी गरे ।
नेपालमा रहेको अपार जलभण्डारको उपयोगमा जनतालाई प्रत्यक्ष सहभागी गराउने कार्यक्रम ऊर्जा मन्त्रालयले अघि सारेको भन्दै मन्त्री शर्माले जलविद्युतमा शेयर लगानी गरेर धनी हुन् सबैलाई आह्वान गरे।
नेपालमा ८५ हजार मेगावाट विद्युत उत्पादनको सम्भाव्यता पहिचान भइसकेको अवस्थामा यसलाई ओगटेर नभई निर्माण गरेर सर्वसाधारण जनतालाई धनी बनाउन सकिने र देशलाई समृद्ध पार्न सकिने उनको भनाइ छ।
देशलाई विद्युतीकरणको उत्कर्षमा पुर्याएर विकास गर्न सके मात्र राष्ट्रिय स्वाभिमान जोगाउन सकिने तर्क शर्माको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.