देउवा र ओलीलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?


काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनमा गम्भीर हुन प्रमुख दलका शीर्ष नेतालाई सचेत गराएकी छन् ।
बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले आगामी ७ भित्र ३ वटै तहको चुनाव गराइसक्न सचेत गराएकी छन् ।
चुनाव हुन नसकेमा संवैधानिक र राजनीतिक संकट आइपर्ने उल्लेख गर्दै राष्ट्रपतिले समयमै चुनावको मिति घोषणा गर्नुपर्नेतर्फ सजग गराएकी हुन् ।
संविधानको पालक, संरक्षकसमेत रहेकी राष्ट्रपति भण्डारीले यसको कार्यान्वयन गराउनका लागि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी चुनाव गराउने सरकारी तयारीबारे जानकारी लिएकी थिइन् । निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएकी थिइन् ।

कानुनविद्ले भने– ‘परामर्श नमाने चेतावनी दिएर मिति घोषणा गर्न लगाउनुस्’

यसैबीच बुधबारै कानुनविद्हरुले राष्ट्रपति भण्डारीलाई चुनावको मिति घोषणा गरी समयमै चुनाव गराउन सरकारलाई चेतावनी दिनुपर्ने सुझाव दिएका छन् ।
निर्वाचन लगायका बारेमा कानुनविद्हरूसँग शीतलनिवासमा सुझाव लिने क्रममा राष्ट्रपतिलाई कानुनविद्हरुले चुनाव गराउन दिएको परामर्श नमाने सरकारलाई चेतावनी दिएरै भएपनि निर्वाचन मिति घोषणा गर्न लगाउन सुझाव दिएका हुन् ।
नेपाल बार एसोसिएसन अध्यक्ष शेरबहादुर केसीसहित ६ जना कानुनविद्ले राष्ट्रपतिलाई राष्ट्रपति संविधानको पालक, संरक्षकसमेत भएकाले कार्यान्वयन गराउन विशेष भूमिका खेल्नुपर्ने अवस्था आएको सुझाव दिएका थिए ।
सरकारले चुनावी वातावरण बनाउन नसकेको, निर्वाचन मिति घोषणा गर्न आलटाल गरेको र त्यससम्बन्धी कानुनहरूसमेत बनाउन नसकेको भन्दै राष्ट्रपति भण्डारी दलका शीर्ष नेता र कानुनविदहरुंग परामर्श गरिरहेकी छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.