वैदेशिक रोजगारीको पीडाः अर्धचेत अवस्थामा फिर्ता....


बाँकेः वैदेशिक रोजगारीका लागि मलेसिया गएका ३६ वर्षीय लोकराज सुवेदीलाई अर्धचेत अवस्थामा स्वदेश फर्काइएको छ । बाँकेको रनियापुर-५ मनकामनापुरका सुवेदी अझै अर्धचेत अवस्थामा छन् । उनको मेरुदण्डको हड्डी भाँचिएको छ । टाउकोमा चोट छ । उनको दिसापिसाब ओछ्यानमै हुन्छ । घरीघरी सुवेदी बरबराउँछन् मात्रै । २०६८ साल असोजमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका सुवेदी तीन तलामाथिबट खसेर घाइते भएको भनिएको छ । तर घटना कसरी भयो भन्ने जानकारी परिवारले पाएको छैन ।
‘कसैले अग्लो ठाउँबाट फालिदिएजस्तो छ । ढाड भाँचिएको छ । टाउकोको पछाडि चोट छ । अरूतिर केही भएको छैन', वृद्ध बाबु डेमलाल सुवेदीले भने, ‘आफैं लडेको भए त अरूतिर पनि चोट लाग्नुपर्ने हो ।' ‘मेरो छोरो कसरी त्यस्तो अवस्थामा पुग्यो, सरकारले पत्ता लगाइदिनुपर्‍यो', डेमलालले भने ।
घटनाको भएको १० दिनपछि लोकराजको सास मात्रै बाँकी राखेर मलेसियाबाट पठाइएको छ । माघ ५ गते घटना भएको थियो । १५ गते सास मात्रै बाँकी राखेर नेपाल पठाइएको थियो । रोजगारीका लागि मलेसिया गएका झापाका एक व्यक्तिको साथ लगाएर घटना भएको १० दिनपछि लोकराजलाई नेपाल पठाइएको थियो ।
२० दिन जति काठमाडौस्थित त्रिवि शिक्षण अस्पतालमा राखेर घर ल्याइएको श्रीमती विष्णु सुवेदीले बताइन । उपचारका क्रममा ८ लाखभन्दा बढी खर्च भइसकेको श्रीमती विष्णुले बताइन् । ‘काठमाडौंमा राख्दा धेरै खर्च हुने भएपछि घर ल्याएका हौ', श्रीमती विष्णुले भनिन् । आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या भएको उनको दुखेसो छ ।
पाँच वर्षसम्म मलेसियाको क्वालालम्पुर विमानस्थलमा काम गरेका सुवेदीको अवस्था गम्भीर छ । अर्धचेत अवस्थाका सुवेदी भन्छन्, ‘मलाई दुईजनाले समातेर फालिदिए ।' लोकराजका नाबालक २ छोराछोरी छन् । कमाएर घर धान्ने लोकराज नै ओछ्यान परेपछि श्रीमती, नाबालक २ छोराछोरी तथा वृद्ध आमाबाबुको बिचल्ली भएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण वैदेशिक रोजगारीका लागि गएका सुवेदीले न क्षतिपूर्ति पाएका छन् न त उपचार खर्च । परिवारलाई क्षतिपूर्ति, औषधि उपचार खर्चका लागि कसलाई भन्नेसमेत जानकारी छैन । मलेसिया पठाउने वैदेशिक रोजगार कम्पनीले समेत वास्ता नगरेको श्रीमतीले बताइन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.