दिनमा पाँचचोटि नमाज पढ्ने इमरान मन्दिरमा बुट्टा भर्छन्
बिक्रम संवत १३४९ मा बंगालका सुल्तान समुद्दिन इलियास नेपाल आएका थिए। काठमाडौंमाथि आक्रमण गर्न पूर्वबाट नेपाल पसेका उनी बाटोमा पर्ने हिन्दु देवीदेवताका मन्दिर भत्काउँदै हिँडेको इतिहास छ। दोलखा हुँदै काठमाडौं छिरेका इलियासले पशुपतिनाथ, पाटनको तीन बहाल र स्वयम्भूमा पनि क्षति पु¥याएका थिए। इलियास आएको करिब सात सय वर्षपछि अर्का भारतीय मुसलमान काठमाडौं आए। तर, उनको उद्देश्य मन्दिर भत्काउनु थिएन, बरु त्यसमा सुन्दर बुट्टा भर्नु थियो। भारतीय राज्य गुजरातका मुस्लिम युवा इमरान हुसेन कारिगर कृष्ण प्रणामी मन्दिरमा बुट्टा भर्न १० वर्षअघि काठमाडौं आएका थिए। त्यसयता उनी नेपालमै छन्। सन् २००२ मा गुजरातमा बहुसंख्यक हिन्दु र अल्पसंख्यक मुसलमान समुदायबीच दंगा भयो। रेलमा आगो लगाइयो, आगजनी र तोडफोडमा सयौं मानिसले ज्यान गुमाए। त्यतिबेला इमरान अहमदावादबाट ७१ किलोमिटर टाढा खेडा जिल्लाको मोहर नदी किनारमा रहेको कपडभन्ज गाउँमा बुबासँग सिमेन्टमा बुट्टा बनाउन सिक्दै थिए। ‘म भर्खर काम सिकिरहेको थिएँ,’ नवलपरासीको दुम्कौलीमा शास्वत धाममा बुट्टा भरिरहेका इमरानले प्रस्ट नेपालीमा सेतोपाटीसँग भने, ‘दंगाफसाद भयो भन्थे, हामीलाई यो धर्म ऊ धर्म भन्ने मतलब हुँदैन। मन्दिर, मस्जिद जेमा पनि बुट्टा भर्ने काम गर्छौं।’ बुट्टा भर्ने कला इमरानका बुबाले उनका बुबाबाट सिकेका हुन्। उनको परिवार मात्र होइन, कपडभन्ज गाउँका धेरै जना मन्दिर र मस्जिदमा बुट्टा भर्ने काम गर्छन्। बुट्टा भर्ने काम गर्ने भएकैले उनको नामको पछाडि कारिगर थपिएको हो। कालिगढको काम गर्न उनीहरू देश–विदेश पुग्छन्। बुबासँग कारिगरी सिकेका इमरान पनि काम खोज्दै दिल्लीसम्म पुगे। त्यहाँ उनले मन्दिर बनाए। मन्दिरमा बुट्टा भर्दै हिँड्ने कपडभन्जका मुस्लिमको धेरै मन्दिरसँग सम्पर्क हुन्छ। जामनगरमा रहेको कृष्ण प्रणामी मन्दिरमा उनीहरूको पहिलेदेखि सम्बन्ध थियो। त्यही मन्दिरका पूजारीले उनलाई काठमाडौंका मन्दिरमा बुट्टा भर्न जाने प्रस्ताव गरे। बुट्टा भर्न रमाउने इमरान १० जनाको नेतृत्व गर्दै काठमाडौं आउन राजी भए। गुजरातबाट दिल्ली, दिल्लीबाट गोरखपुरसम्मको रेलयात्रापछि सुनौली हुँदै बसमा काठमाडौं पुगे। ‘सुरुमा मौसम पनि जाडो, भाषा पनि नबुझ्ने, अलि गाह्रो भएको थियो,’ उनले भने, ‘पछि त बानी प¥यो, भाषा पनि सिकियो।’ दुई वर्ष कृष्ण प्रणामी मन्दिर बनाइसकेर इमरानको टोली गुजरात फर्कियो। त्यहाँ पनि कतै मन्दिर–मस्जिद बनाउन काम मिल्यो भने जान्थे। नत्र घरमै बस्थे। एकदिन चौधरी ग्रुपबाट उनलाई फोन आयो। शास्वत धाममा बुट्टा भर्न ३५ जना कारिगरको नेतृत्व गर्दै इमरान नेपाल हिँडे। सात वर्षपछि शास्वत धामको काम सकिन लागेको छ। अहिले उनको टोलीका धेरै जना फर्किसकेका छन्। यो पनि पढ्नुस: दुम्कौलीको शास्वत धाम शास्वत धाममा इमरानको कला देखेर उनलाई आसपासका ठाउँमा मन्दिर बनाइदिने प्रस्ताव पनि आइरहेको छ। ‘यताउताको मान्छेले हाम्रो सानो मन्दिर पनि यस्तै बनाइदिनु प¥यो भन्छन्,’ इमरानले भने, ‘अब यहाँको काम सकिएपछि बर्दियामा पनि मन्दिर बनाउनु छ, त्यसपछि हेरौं के हुन्छ।’ उनका अनुसार शिखर, सामरोन र मण्डोवर शैलीमा मन्दिरमा बुट्टा भरिन्छन्। ‘जुन शैली भए पनि सुरुमा प्याट्रन बनाउने हो, त्यहीअनुसार भर्दै जाने हो,’ उनले भने, ‘मस्जिदमा मिनरा र मेम्बर शैलीले बनाउनुपर्छ।’ बुट्टा भर्ने काम गर्दा उनलाई कुन मन्दिर हो, कुन मस्जिद हो केही हेक्का हुन्न। ‘बुट्टा बनाउन पाए मजा लाग्छ,’ उनले भने, ‘यो मन्दिर हो, यो मस्जिद हो भन्ने कुराले केही फरक पार्दैन, दुवै ठाउँमा आफ्नो कला देखाउने हो।’ सात कक्षासम्म पढेका इमरान बुट्टाको डिजाइन पनि हातैले बनाउँछन्। ‘धेरै नपढेकाले मलाई धेरै टेन्सन छैन,’ उनी भन्छन्, ‘बढी पढेका मान्छे बुद्धि कम चलाउँछन्। उनीहरूका कुरा साइन्सका कुराभन्दा पनि ठूला हुन्छन्।’ छ वर्षीय छोराका बाबु इमरानलाई मैले सोधेँ, ‘त्यसो भए आफ्ना छोरालाई पनि नपढाएर यस्तै काममा लगाउने हो कि क्या हो?’ ‘नाइँ नाइँ त्यो त उसको मर्जीको कुरा हो,’ इमरानले हाँस्दै भने, ‘जबर्जस्ती काम सिकायो भनेर मन लगाएर सिक्दैन कि। उसलाई जे गर्न मन लाग्छ त्यही गर्छ।’ उनलाई कतिले भन्छन्– मुसलमान भएर किन हिन्दुका मन्दिरमा बुट्टा कुँद्दै हिँड्छस्। ‘त्यस्तो भन्नेका कुरा म एक कानले सुन्छु अर्को कानले उडाइदिन्छु,’ उनले भने, ‘हामीले काम गर्ने हो, काम आफ्नो ठाउँमा छ, धर्म आफ्नो ठाउँमा छ।’ त्यसो भए उनी प्राथना गर्दैनन्, मस्जिदै जाँदैनन् त। ‘दिनमा पाँचचोटि नमाज पढ्नुपर्छ। छुट्टीको दिन पाँचैचोटी पढ्छु। काम हुँदा बिहान बेलुका दुई टाइम त समय हुन्छ। दिउँसो फुर्सद हुँदैन,’ इमरानले भने, ‘शुक्रबार रजहरको मस्जिदमा जान्छौं अनि एकछिनमा आएर काम थाल्छौं, मनमा विश्वास भएपछि त्यत्तिकै धर्म भइहाल्छ, शंका छ भने कसरी हुन्छ?
0 comments
Write Down Your Responses