भारतीय दूतावासमा युवाहरुको प्रदर्शन, विप्लवका कार्यकर्ताले भारतको झण्डा जलाए

काठमाडौं, २७ फागुन । कञ्चनपुरको पुनर्वास घटनाको विरोधमा सुदूरपश्चिमका युवाहरुले लैनचौस्थित भारतीय राजदूतावास घेराउ गर्दै प्रदर्शन गरेका छन् ।
पुनर्वासस्थित नेपाली भूमि आनन्दबजारमा प्रवेश गरेर भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएपछि दूतावास घेराउ गर्न गएका युवाहरुले शुक्रबार दिउँसो तीन बजेदेखि १ घण्टासम्म प्रदर्शन गरी कञ्चनपुर घटनामा नेपालसँग माफी माग्न भारतलाई दबाब दिएका हुन् ।
उनीहरुले हातमा राष्ट्रिय झण्डा बोक्दै ‘गोविन्द गौतमलाई राष्ट्रिय सहिद घोषणा गर, परिवारलाई क्षतिपूर्ति देउ, दोषीलाई कडा कारवाही गर, भारत सरकार माफी माग’ जस्ता नारा लगाएका थिए ।
करिब ५ सय भन्दा बढी युवाले प्रदर्शन गरिरहेका बेला प्रहरीले धरपकड समेत गरेको थियो । युवा विद्यार्थीहरुले फेरि प्रदर्शन गरी त्यही कोणसभा गरेका थिए । कोणसभामा बोल्दै सुदूरपश्चिमका विद्यार्थी अगुवा कर्ण साउदले कञ्चनपुर घटनामा भारत सरकारले औपचारिक माफी माग्नुपर्ने बताए ।
विद्यार्थीहरुले यसअघि त्रिभुवन विश्वविद्यालयमा पनि प्रदर्शन गरेका थिए । सुपका विद्यार्थीको प्रदर्शनमा विद्यार्थी संगठनहरुले पनि समर्थन जनाएका थिए ।

विप्लवका कार्यकर्ताले भारतको झण्डा जलाए

यसैबीच कञ्चनपुर घटनाको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भारतको झण्डा जलाइदिएका छन् । उनीहरुले भारतीय दूतावास अगाडि नै झण्डा जलाइदिएका हुन् ।
भारतीय दूतावास घेराउ गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि आक्रोशित बनेका उनीहरुले भारतको राष्ट्रिय झण्डा जलाएका हुन् ।
५० भन्दा बढी संख्यामा रहेका उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाउँदै झण्डा जलाएका थिए । त्यसक्रममा प्रहरीले फेरि हस्तक्षेप गरेको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.