आइजी विदाइमा डिआइजी सिलवाल र चन्द काँधमा काँध मिलाएर उपस्थित



काठमाडौँ : दुवै भावी आइजीका प्रतिस्पर्धी। दुवैको दावेदारी अहिले सर्वोच्च अदालतको न्यायिक लडाइँमा पुगेको छ। डिआइजी नवराज सिलवाल र डिआइजी जयबहादुर चन्द। आइजी उपेन्द्रकान्त अर्यालको विदाइका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दुवै काँधमा काँध मिलाएर सँगै उपस्थित थिए। यस्तो लाग्थ्यो उनीहरुबीच पर्दापछाडि कुनै प्रतिस्पर्धा छैन। सिलवाल र चन्दसँगै आइजीका थप दुई दावेदार डिआइजी प्रकाश अर्याल र डिआइजी बमबहादुर भण्डारी पनि सँगै थिए। यदि अदालतमा मुद्दा नपरेको भए सरकारले भोलि अर्थात् फागुन ३ गते डिआइजी जयबहादुर चन्दको काँधमा आइजीको फुली लगाइदिन्थ्यो। तर सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएर सरकारको निर्णय कार्यान्वयन नगर्न भनेपछि कम्तिमा फागुन ८ गतेसम्मका लागि यो सम्भावना टरेको छ। यदि सर्वोच्चले फागुन ८ गते अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गर्‍यो भने अन्तिम फैसला नहुन्जेल चन्दले फुली थाप्न पाउने छैनन् र सरकारले हाल नियमावली संशोधन गर्दै निमित्त आइजी बनाएका दिनेशचन्द्र पोखरेलले नै कार्यभार सम्हालिरहने छन्। सिलवाल साबिककै सिआइबीमा र चन्द लागू औषध नियन्त्रण ब्युरोमा काम गरिरहने छन्।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.