यसरी आइपुग्यो भारतको बिजुली काठमाडौंमा (भिडियो सहित)

रामेछाप– इतिहासमै पहिलोपटक भारतबाट यतिबेला ४० मेगावाट हाराहारीको बिद्युत काठमाडौं आइरहेको छ । ७५ किलोमिटर दुरीको खिम्ती–ढल्केबर बिद्युत प्रशारण लाइन निर्माण सम्पन्न भएसँगै पहिलोपटक भारतको बिजुली काठमाडौं आइपुगेको हो ।
१० बर्षअघि बिश्व बैंकको दुई अर्ब १५ करोड ६० लाख ऋण सहयोगमा खिम्ती—ढल्केबर प्रसारण लाइन आयोजनाको काम शुरु भएको थियो । २०६५ सालमा काम सक्ने समयसीमा भएपनि गत माघ ३ गते काम सकेर ४ गते प्रशारण लाइनमा बिद्युत चार्ज भएको थियो ।
रामेछाप र दोलखाको सीमानामा रहेको खिम्ती सबस्टेशनमा भारतबाट आयात भएको बिजुली र खिम्तीमा उत्पादन भएको ६० मेगावाट बिद्युत प्रणालीलाई एकठाँउमा मिसाइन्छ । त्यहाँबाट आवश्यकता अनुसार काठमाडौ र ढल्केबर हुृँदै तराई तथा पूर्वका क्षेत्रहरुमा बिद्युत प्रशारण गरिन्छ । काठमाडौंलाई लोडसेडिङ मुक्त बनाईराख्न अव सरकारलाई समस्या पर्नेछैन ।
बिद्युत चार्ज सफल भई भारतको बिजुली काठमाडौं आएपछि गत माघ २० गते यसको औपचारिक उद्घाटन भएको थियो । प्रधानमन्त्री प्रचण्डले दोलखा जिल्लाको खिम्तीस्थित खिम्ती—ढल्केबर २२० प्रसारण लाइनको उद्घाटन गरेका थिए । उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सहित खिम्ती पुगेर प्रधानमन्त्रीले प्रसारण लाइनको उद्घाटन गरेका थिए ।
अहिलेसम्म १३२ केभी प्रसारण लाइन मात्रै सञ्चालन हुँदै आएकोमा नेपालमा पहिलोपटक २२० केभीको प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
यस विषयमा प्रधानमन्त्रीले भनेका थिए, ‘नेपालकै पहिलो २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदा हर्ष र गर्वको महशुस भएको छ । ४०० केभी प्रसारण लाइनको काम पनि अघि बढिरहेको छ । तर, २२० केभी हामीले सञ्चालनमा ल्याइसकेका छौं, यो हाम्रा लागि महत्वपूर्ण विषय हो । यसमा सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।’
उर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल अभियानले जनतामा उत्साह भरेको बताएका थिए । ‘प्रधानमन्त्रीज्यूको निर्देशनमा उज्यालो नेपाल अभियान चलाइएको छ । यसको विकास र समृद्धिमा दुरगामी महत्व छ । उज्यालो नेपाल अभियान जनतामा उत्साह भर्ने अभियान हो । यो राष्ट्र निर्माणको अभियान हो, गरे सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ । हाम्रो सहकार्यले सकारात्मक परिणाम दिएको छ ।’ उनको भनाई थियो ।
उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २०६२ मा प्रारम्भ भएको आयोजना ११ वर्षपछि सम्पन्न भएको, आयोजना सम्पन्न गर्न १ अरब ९५ करोड लगानी भएको तथा विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानी रहेको र खिम्ती—ढल्केबर प्रसारण लाइनको सञ्चालनपछि काठमाडौं र पोखराको विद्युतमा महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए ।
खिम्ती–ढल्केबर प्रशारण लाइनका यी हुन फाइदा
–यो प्रशारण लाइन बनेसँगै नेपालले भारत सहित बंगलादेशसम्म प्राविधिक रुपमा बिद्युत निर्यात गर्ने ढोका खुलेको छ ।
–काठमाडौंको लोडसेडिङ घटाउन भारतबाट आवश्यक पर्ने बिद्युत ल्याउन सकिने भयो । यो प्रशारण लाइन जोडिएसँगै अब काठमाडौंमा लोडसेडिङको सम्भावना टरेर गएको छ ।
–माथिल्लो तामाकोशी लगायत सिन्धुली, रामेछाप, दोलखा लगायत सो क्षेत्रका खोलाहरुबाट उत्पादन हुने बिद्युत राष्ट्रिय प्रशारण लाइनमा समावेश गर्न सकिने भयो ।
–खिम्तिमा उत्पादन भएको बिद्युत काठमाडौंबाट चितवन हुँदै तराईमा पु¥याउन झन्डै २ सय ५० किलोमिटर भन्दा बढी दुरी पार गर्नुपर्ने थियो । यो प्रशारण लाइनबाट ७५ किलोमिटर दुरीमा तराईमा बिजुली पुग्यो ।
– प्राधिकरणका अनुसार बिद्युत प्रशारण लाइन बनेसँगै १० मेघावाट बिद्युत चुहावट कम हुने भएको छ ।
–भोल्टेजको गुणस्तरमा सुधार भएको छ । तराईका शहरहरुमा भइरहेको न्यून भोल्टेजको समस्यामा सुधार भएको छ ।
–काठमाडौंमा बिजुली कम खपत भएको बेला पूर्वतिरका फिडरहरुमा बिद्युत जाने हुँदा बितरणमा समानुपातिकता ।
–रातीको समयमा काठमाडौंमा बिद्युत कम खपत हुने भएकोले त्यतिबेलाको समयमा स्वचालित रुपमा बिद्युत पावर आवश्यकता अनुसार बिरगंज बिराटनगरका अद्यौगिक क्षेत्रमा पुग्ने । रातीको समयमा चल्ने उद्योगहरुले चाहेजति बिद्युत उपभोग गर्न पाँउने ।
–नेपालले बढी बिद्युत उत्पादन गर्न सकेको खण्डमा सोही प्रशारण लाइन मार्फत भारतमा निर्यात गर्न सक्ने भएको छ ।
भिडियोमा हेर्नुहोस खिम्ती सब–स्टेशन :

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.