आफ्नै कामदार युवतीले बोलाएपछि गेष्ट हाउसमा जाँदा…



काठमाडौं । आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् । कामदार युवतीले पसल साहुलाई काठमाडौंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पु¥याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ । सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवाललाई गेस्ट हाउसका कर्मचारीले उद्धार गरी प्रहरीलाई खबर गरेपछि कामदारबाटै अपहरणमा परी फिरौतीसमेत बुझाउनुपरेको रहस्य खुलेको हो । अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएका थिए । सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले ‘जरुरी काम प¥यो’ भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए । महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रकाशजंग कार्कीले भने । एसपी कार्कीका अनुसार फिरौती लिनेमध्ये दुईजना पक्राउ परे पनि युवतीसहित अन्य दुईजना अझै फरार छन् । ‘अपहरणमा युवतीको भूमिका देखिन्छ, अवस्था के हो ? उनलाई पक्राउ गरी अनुसन्धान गरेपछि मात्रै थाहा हुनेछ,’ एसपी कार्कीले भने । प्रहरीका अनुसार अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा थुनेर राखिएको थियो । गेस्ट हाउसका कर्मचारीले ढोका खोल्दा अग्रवालको मुखमा पट्टी बाँधिएको थियो भने होटलको ढोका बाहिरबाट बन्द गरिएको थियो । अग्रवालले ढोका ढक्ढकाएपछि बल्ल होटेल कर्मचारीले ढोका खोलेका थिए । कर्मचारीले प्रहरीलाई दिएको जानकारी अनुसार मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा उनी भेटिएका थिए । प्रहरीका अनुसार युवतीले गेस्ट हाउसको कोठामा लगेपछि होटलमै रहेका उनका तीन पुरुष साथीले अग्रवाललाई नियन्त्रणमा लिएर पैसाको बार्गेनिङ सुरु गरेका थिए । त्यसपछि अग्रवालले तत्काल आफ्नो साथमा रहेको ७२ हजार नगद र ८ लाख रुपैयाँको चेक थमाएपछि उनीहरू त्यहाँबाट भागेका थिए । काठमाडौंमा लामो समयपछि यस्तो अपहरण भएको हो । अग्रवालको पसलमा काम गर्ने ती महिलाको विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.