परम्परालाई चुनौती, श्रीमानको चितामा श्रीमतीले दिइन् दागबत्ती


बेलौरी, ७ फाल्गुन । घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको सुदूरपश्चिमको सामाजिक संस्कृतिलाई चिर्दै महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएकी छिन् ।
परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै डडेल्धुरा जिल्लाको आलिताल गाविस ६ बलौचाकी २६ वर्षीया जेठी श्रीमती ईश्वरी बोहरा साउँद र कान्छी श्रीमती २० बर्षीया धनमाया गिरी साउँदले शुक्रबार दिउँसो आफ्ना श्रीमानको चितामा दागबत्ती दिएका हुन् । आलिताल गाविस ६ बलौचाका बर्ष २८ का मृतक टेकेन्द्र बहादुर साउँदलाई उनकी दुईटै श्रीमतीबाट दागबत्ति दिई कैलालीको गोदावरीमा अन्तेष्टी गरिएको हो ।
मृतक साउदले बिहिबार दिउँसो ३ बजे तिर विष सेवन गरेका थिए । उनको उपचारको क्रममा सेति अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको जनाईएको छ । जेठी श्रीमतीबाट एक छोरी जन्मिएको र ती पनि अपांग रहेको भन्दै सबैको सहमतीमा दोस्रो विवाह गरेका साउँदका कान्छी श्रीमतीबाट समेत कुनै सन्तान नजन्मिएपछि आफुलाई कमजोर ठानी पछिल्लो समयमा नसालु पदार्थ सेवन गर्ने गरेको परिवार श्रोतले बताएको छ । मृतकले विष सेवन गरेको पोष्टमार्टम रिपोर्टले समेत जनाएको छ । हाल धनगढी उप महानगरपालिका वडा नं.३ बोराडाँडीमा कान्छी श्रीमति सँगै भाडामा बस्दै आएका मृतक साउँद सुदूरपश्चिम यातायातको बस चलाउने ड्राइभर थिए ।
श्रीमानको दागबत्ती श्रीमतीले दिने चलन त सुदूरपश्चिमको संस्कारमा नभएको भन्दै श्रीमतीले दाग बत्ती दिन नमिल्ने स्थानीय व्यक्तिहरुको आवाज आउन थालेपछि दुवै श्रीमतिले भनिन् “अब बिस्तारै समाजमा जरा गाडेका कुरीति एवम् कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्छ ।” समाजका भद्रभलादमीले बृहत् छलफल गरेर श्रीमतीको हातबाट नै मृतक साउँदकोे चितामा दागबत्ती दिनका लागि स्वीकृत दिएको गैरसरकारी संस्था सुआहारामा कार्यरत पशुपति बोहराले बताउनु भयो । समाजमा रहेका कुरीति र रुढीवादी परम्परालाई तोड्नका लागि मृतकका श्रीमतीद्वयले अहम् भूमिका निर्वाह गरेको बोहराको भनाइ छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.