किन दुख्छ खाना खाने बित्तिकै पेट?


एजेन्सी– केही मानिसलाई खाना खानेबित्तिकै नराम्रोसँग पेट दुख्छ। खाना नखाए नि नहुने खाँदा नि पेट दुख्ने। यस्तो समस्याले धेरैलाई सताएको हुनसक्छ। त्यसैले खाना खाने बित्तिकै पेट के कारणले दुख्छ भन्ने कुरा जानियो भने त्यसको समाधान पनि सजिलो हुन्छ। खाना सम्बन्धी एलर्जी, संक्रमण, अल्सर लगायत पेटसम्बन्धी रोगका कारण खाना खाएपछि पेट दुःख्ने गर्छ। ग्यास्ट्रिक र अल्सरका समस्या हुने मानिसलाई पनि खानेबित्तिकै पेट दुःख्छ।
प्रोटिन र कार्बोहाइड्रेड पचाउन मुस्किलः कसैकसैको शरीरले चामल, गहुँ, कोदो, जौ लगायतका कार्बोहाइड्रेड र प्रोटिनयुक्त खानेकुरा सहन सक्दैन। तर, यी खानेकुराले पेटमा क्षणिक पीडा गराउँछ। खाएको एक डेढ घन्टापछि आफैँ निको हुन्छ। खानेकुरा खाएपछि पेट दुख्नुको अतिरिक्त पखला, कब्जियत, बान्ता जस्ता समस्या देखिन सक्छ। त्यस्तै कसैलाई डेरीजन्य खानेकुरा खाएपछि पेट दुःख्छ। दूध, चीज, दही वा आइसक्रिम खाँदा आन्द्राले पचाउन सक्दैन। दूधमा पाइने ल्याक्टोले पनि पेट दुख्ने, बान्ता आउने र पखला लाग्ने हुन सक्छ। शरीरले यस्ता खानेकुरा रुचाउँदैन भने त्यसको विकल्पका खानेकुरा खानुपर्छ।
फुड एलर्जीः केही खानेकुराले पेटमा एलर्जी गराउँछ र पेट दुख्छ। खानेकुरा खाएपछि आँखा रातो हुने, सास फेर्न कठिन हुने, जिब्रो, ओठ र घाँटी सुनिने, रक्तचाप घट्ने, कमजोर महसुस हुने, छाती दुख्ने जस्ता समस्या फुड एलर्जीका लक्षण हुन्। बदाम, दूध, माछा, गहँुको परिकार लगायतले फुड एलर्जी गराउँछ।
फुड पोइजनिङः संक्रमित र ब्याक्टेरियायुक्त खानाले फुड पोइजनिङ हुन्छ। पेट दुख्ने, बान्ता आउने, पखला लाग्ने, डिहाइड्रेसन र ज्वरो फुड पोइजनिङका लक्षण हुन्। काँचो वा राम्रोसँग नपाकेको खानेकुरा वा संक्रमित पानीले फुड पोइजनिङ गराउँछ। दही, मासु, काँचो सब्जी, फलफूल, जुस र निर्मलीकरण नगरेको दूधमा इकोली ब्याक्टेरिया हुन्छ जसले नराम्रोसँग पेट दुख्छ।
अल्सरः पेटको अल्सरका कारण पनि खानेबित्तिकै पेट दुख्छ। यो दुखाइ लामो समयसम्म रहन सक्छ। अल्सर हुँदा आन्द्रा सुनिने र गाँठो पर्ने गर्छ। जब, खानेकुराले आन्द्रालाई दबाब दिन्छ, स्वत पेट दुख्छ। एच पोलोरी ब्याक्टेरिया, सुर्ती सेवन, अत्यधिक मदिरा सेवन, कब्जियत आदिका कारण अल्सर हुने गर्छ।
ग्यास्ट्रिकः ग्यास्ट्रिकको समस्या हुने मानिसलाई खानेबित्तिकै पेट दुख्छ। विशेषगरी तल्लो छाती र माथिल्लो पेटमा दुख्छ। चिल्लोयुक्त खानेकुरा खाँदा बढी पीडा हुन्छ। पेट र भोजन नलीलाई जोड्ने भल्भ कमजोर हुँदा ग्यास्ट्रिक हुन्छ। भल्म कमजोर हुँदा खानेकुरा र पेटको एसिड माथि धकेलिने हुनाले छातीमा पीडा हुनुका साथै अमिलो पानी मुखबाट आउँछ।
इरिटेबल बाउल सिन्ड्रोम (आइबिएस): आइबिएस हुँदा पेट अस्वभाविक रुपमा दुख्ने गर्छ । चिल्लो खानेकुरा र भोजनमा फाइबरको अभाव हुँदा यस्तो समस्या आउँछ। कफी र कृत्रिम गुलियोले पनि यो समस्या बढाउँछ। धेरै खानेकुरा खाँदा पनि यो समस्या देखिन सक्छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.