थारु श्लोक सुनाउदै गृहमन्त्री निधिः जितिया पावैन बडभारी...



काठमाडौंः सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले तितिया पर्वको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भएर थारु भाषाको श्लोक सुनाएका छन् । शुक्रबार राजधानीमा थारु महिलासभा र थारु महिला समाजले गरेको राष्ट्रिय जितिया पर्वलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री निधिले थारु भाषामै जितिया श्लोक सुनाएका हुन् । गृहमन्त्रीले भने, ‘जितिया पावैन बडभारी, धिया पुताके ठोयक सुताबे या अपना ले भैर थारी...।’ यो श्लोकको अर्थ जितिया पर्वको व्रतालु महिलाले आफ्ना साना बालबच्चालाई सुताएर आफूले भोलीको व्रतको लागि मिठामिठा खानेकुरा पकाउने साथै भोली श्रीमान् र सन्‍तानको दीर्घायूको कामना गर्दै जीतमहानको कथा सुन्छन् भन्ने हुन्छ । गृहमन्त्री निधिले नेपालको तराईमा थारु समुदायसँगै मिथिला समुदायले पनि जितिया पर्वलाई धुमधामका साथ मनाउने गरेको जानकारी दिए। निधिले तराईका आदिवासी थारुहरुलाई राज्यले नजिकबाट नियालेर उसको हक अधिकारलाई संरक्षण र संवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘तराईमा आदिवासी थारुको आफ्नै पहिचान, भाषा र संस्कृति छ। यसको संवर्द्धनमा सरकार सदैव लागिरहन्छ। संविधानमा थारु समुदायको हक अधिकार केही सुरक्षित छ। केही सुरक्षित गर्न बाँकी छ।’ कार्यक्रममा थारु महिला समाजकी अध्यक्ष जितिया पर्वलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनस्वरुप जितिया पर्व थाहरु महिलाले मनाउन लागेको बताइन्। मुक्ति संग्रामका राष्ट्रिय अध्यक्ष डा. ललन चौधरीले जितिया पर्व महिलाहरुको शक्तिको पर्व भएको बताउँदै सरकारले यसलाई वेवास्ता गर्न नहुने बताइन । यस्तै थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य चन्द्र नारायण चौधरीले सरकारले थारुको मागलाई उपेक्षा गरेको भन्दै आन्दोलन स्वरुप थारु महिलाले जितिया संकटकालमा जितिया मनाइरहेको बताए। उनले दर्जनौ थारुहरुलाई जेलमा राखेर सरकारले शासन जमाउन खोजेको जिकिर गरे। थारू समुदायका महिलाहरु जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरु निराहार ब्रत बस्ने गर्छन् । जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो। यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराईका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन्। पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.