शिक्षक कहिल्यै आउँदैनन्, परिचरले पढाउँछन्

सिरहा: मिर्चैया नपा १ मठडाहीकुटीको जनजागृति प्राथमिक विद्यालयका शिक्षक विद्यालय नआएपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । तीन कक्षासम्म पढाइ हुने विद्यालयका एक मात्र शिक्षक (निमित्त प्रअ) हरिदेव मण्डल विद्यालयमा उपस्थित नभएपछि विद्यार्थीको पढाइ प्रभावित भएको हो ।
स्थानीय रामनाथ साहका अनुसार मण्डल शिक्षक नियुक्त भएदेखि नै नियमित विद्यालय आउने गरेका छैनन् । स्थानीय भएकाले उनी राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उनले बताए । शिक्षक नआएपछि विद्यालयका सहयोगी रवीन्द्र ठाकुरले विद्यार्थीलाई पढाउने गरेको स्थानीय गुरुदयाल सदायले जानकारी दिए ।
नियुक्त भएदेखि नै मण्डल विद्यालय नआएपछि आफैंले विद्यार्थीलाई जानेसम्म पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गरे । उनी भन्छन्, 'तीनवटै कक्षामा गरी जम्मा ६० जना विद्यार्थी छन् । नियमित १२/१५ जना आउँछन्, उनीहरूलाई म आफैं पढाउँछु ।'
विद्यालयको हाजिरी रजिस्टरसमेत मण्डलले आफ्नै घरमा राख्ने गरेको कार्यालय सहयोगी ठाकुरले बताए । रजिस्टर नभएपछि हाजिर गर्नसमेत उनकै घरमा जाने गरेको ठाकुरले बताए । विद्यार्थीको नाम टिपेर त्यहीअनुसार हाजिर गर्ने गरेको उनले बताए । समाचार संकलन गर्न पुगेको दिन परिचर ठाकुर पनि विद्यार्थीलाई छुट्टी दिएर गाउँमा सत्यनारायणको पूजा गराइरहेको भेटिए । 'शिक्षक पनि नआउने, तपाईं पनि यसरी पूजाआजा गराएर हिँडेपछि विद्यार्थीलाई कसले पढाउँछ ? भनी सोध्दा उनले भने, 'ब्राम्हण भेटिएनन्, मलाई पूजा गराउन भनेकाले जानेको गरिदिएको हुँ ।'
स्थानीय बासिन्दाले अघिल्लो सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेल असार १० गते सिरहा आएका बेला विद्यालयको अवस्था अवगत गराएका थिए । त्यतिबेला मन्त्री पोखरेलले जिल्ला शिक्षा अधिकारी महतोलाई एक साताभित्र अर्को शिक्षक पठाएर पठनपाठन व्यवस्थित गर्न निर्देशन दिएको स्थानीय शिक्षकले जानकारी दिए ।स्थानीयले शिक्षकलाई नियमित उपस्थित गराउन वा अर्को शिक्षक पठाइदिन शिक्षा कार्यालय र शिक्षामन्त्रीसम्मलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयले गुनासो गरे । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले भने, 'मण्डलको विषयमा गुनासो आएको छ । उनको ठाउँमा चाँडै अर्को शिक्षक पठाउने तयारी भइरहेको छ ।' उनले भने, 'शिक्षक मण्डललाई विद्यालयमा गएर पठनपाठन गराउन पटकपटक निर्देशन दिए पनि उनले टरेनन् । अब उनको ठाउँमा अर्को शिक्षक पठाउँदै छौं ।'

शिक्षक मण्डलले भने विद्यालयमा नियमित बसेर पढाउने मात्र आफ्नो काम नभएको बताए । उनले भने, 'मेरो विभिन्न काम हुन्छ, सधैं विद्यालयमा बसेर कहाँ पढाउन सक्छु ? ' उनले कहिलेकहीँ एक आधा घन्टा विद्यालयमा बस्ने गरेको बताए । उनले पढाउने मान्छे भएको भन्दै आफू नजाँदा पनि पठनपाठन प्रभावित नहुने जिकिर गरे ।
दलित बस्तीको मध्य भागमा रहेको विद्यालयका सबै विद्यार्थी दलित छन् । यहाँ सदाय (मुसहर), मण्डल र साफीको ७० भन्दा बढी घरपरिवार छ ।
दलित छात्रवृत्ति हिनामिना
राज्यले दिँदै आएको दलित छात्रवृत्तिको रकमसमेत पाँच वर्षदेखि नदिएर हिनामिना गरेको अभिभावको आरोप छ । शिक्षक मण्डलले भने छात्रवृत्ति र पुस्तकको पैसा शिक्षा कार्यालयले नपठाएको बताए । उनले भने, 'शिक्षा कार्यालयले पुस्तकको पैसा नपठाएपछि यो वर्ष आफ्नै खल्तीबाट सात हजार पाँच सयको पुस्तक किनेर विद्यार्थीलाई दिएँ ।'
शिक्षा कार्यालयको रेकर्डमा भने आव ०७२/७३ मा ५१ जना विद्यार्थीका लागि छात्रवृत्तिबापत २० हजार चार सय, पाठ्यपुस्तकबापत सात हजार पाँच सय, निरन्तर विद्यार्थी मूल्यांकनका लागि दुई हजार तीन सय ७५, ननसेलरी ७ हजार ६ सय ५०, सामाजिक लेखा परीक्षणका लागि ६ हजार पाँच सय रुपैयाँ गएको देखाएको छ ।
यस्तै विद्यालयलाई भौतिक सुविधा बिस्तार कार्यक्रमअन्तर्गत कक्षाकोठा र शौचालय निर्माण गर्न रकम निकासा दिएको भए पनि काम पूरा नगरी रकम लिएको देखिएको छ । कक्षाकोठा निर्माणका लागि आव ०६५/६६ र ६६/६७ मा पाँच लाख ५० हजार र शौचालय निर्माणका लागि एक लाख ५० हजार दिएको भए पनि काम अधुरै रहेको शिक्षा कार्यालयले बताएको छ ।
जिल्ला शिक्षा कार्यालय सिरहाका भौतिक योजना प्रमुख इन्जिनियर दिनेशकुमार यादवले काम सम्पन्न गर्न पटकपटक मौखिक तथा लिखित ताकेता गर्दासमेत वास्ता नगरेको बताए । कक्षा कोठाका लागि जग बनाई फलामे पाइप ठड्याएर पाँच वर्षदेखि अरू काम गरिएको छैन । फलामे पाइप मात्र ठड्याएका कारण पाइपमा खिया लागेर कामै नलाग्ने अवस्थामा पुग्न लागेको इन्जिनियर यादवले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.