सहलेखापाल रिजालको आफ्नै साथीले हत्या गरेको खुलासा

सुरुङ्गा: शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शिवाकोटीले नै उनको हत्या गरेको देखिएकाले ज्यान मार्ने उद्योगमा उनीमाथि मुद्दा दर्ता गरिएको बताए।
शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ लगेको र शरणामती–५ चप्रमारीमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले उनीमाथि मुद्दा चलाइएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए।
रिजालको बुधबार बिहान कनकाई नगरपालिकाको चप्रमारीमा सडक किनारमा शव फेला परेको थियो। रिजालको निधार र खुट्टामा नीलो डाम देखेपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको थियो। शिवाकोटी र रिजाल साथी भएको प्रहरीले जनाएको छ।
मङ्गलबार राति अबेरसम्म सुरुङ्गास्थित त्रिवेणी होटलमा मृतक रिजाल र शिवाकोटीले मादकपदार्थ सेवन गरेर घर फर्कने क्रममा रिजालको चप्रमारीमा हत्या भएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए।
रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले बिहीबार स्थानीय निकाय अन्तर्गतका सबै कार्यालय बन्द गरेर हत्याराको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका थिए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.