प्रचण्डले दिए उठाइसकेको कदम रोक्न निर्देशन

काठमाण्डु, ८ कात्तिक-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।
ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा सोमबार प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई सो निर्देशन दिएका हुन् ।
प्रकाशनले सो बैंकलाई तिर्नुपर्ने सात करोड ५० लाख र अन्य ऋण भुक्तानीका लागि आफ्ना अन्य जग्गा बिक्री गर्नेसमेत निर्णय गरेकोमा प्रधानमन्त्रीले अनुदान र ऋण गरी ४० करोड निकासा दिइने आश्वासन दिए ।
शिक्षामन्त्री धनीराम पौडेल, प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक प्रदीप नेपाल, दीनानाथ शर्मालगायतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले दाहालले प्रकाशनलाई सरकारले २० करोड ऋण र २० करोड रुपैयाँ अनुदान दिई सो संस्था बचाइने बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘हामी प्रक्रिया पूरा गरेर एक साताभित्र मन्त्रिपरिषद्वाट सो रकम दिने निर्णय गर्छौ, हाललाई जसरी हुन्छ लिलामी रोक्नुप¥यो । सरकारले सहयोग गरेपछि संस्था चलाउने जिम्मा तपाईंहरुले लिनुपर्छ, त्यो ऐतिहासिक संस्था बन्द हुनुहुँदैन ।’
शिक्षामन्त्री पौडेलले सो प्रकाशन बचाउन प्रधानमन्त्रीको निर्देशन बमोजिम आवश्यक फाइल अर्थमन्त्रालयमा पठाइएको जानकारी दिए ।
अध्यक्ष तथा महाप्रबन्धक शर्माले यसअघि पनि प्रधानमन्त्री र मन्त्रीबाट विभिन्न आश्वासन दिइएको र सोमबार को निर्देशनले थप आशा जागेको बताए ।
उनले संस्थामा लामो समयदेखि हुन नसकेको लेखा परीक्षण, कर्मचारी कटौती, बिक्री वितरणमा चुस्तता, विगतको अनियमिततामाथिको छानबिन गर्ने कार्य जारी राखेको पनि बताए । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.