स्पेयर्स पार्ट्स दिने सहमतिपछि चिनियाँ जहाज आउँदै

काठमाडौः नेपाल वायुसेवा निगमले दुईवटा जहाज सञ्चालन गर्दा घाटा खाइरहे पनि आन्तरिक उडानका लागि थप चारवटा चिनियाँ जहाज भित्र्याउने भएको छ । निगमले पुस १५ भित्रै आउने गरी दुईवटा र त्यसपछि तालिका मिलाएर अर्का दुईवटा चिनियाँ जहाज ल्याउने निर्णय गरेको छ ।
चीनमा निर्माण भएका तीनवटा १८ सिट क्षमताका वाई १२ ई र ५६ सिट क्षमताको एउटा एमए ६० जहाज ल्याउनेबारे अध्ययन गर्न इन्जिनियर प्रभास कर्माचार्यको संयोजकत्वमा निगमले समिति गठन गरेको थियो ।
समितिले सञ्चालनमा रहेका जहाजको ९० प्रतिशत समस्या समाधान गरिए थप जहाज ल्याउन उपयुक्त हुने सुझाव दिएपछि निगमले तत्काल एक एमए ६० र एउटा वाई १२ जहाज ल्याउन लागेको हो । बाँकी दुईवटा वाई १२ भने तीनदेखि ६ महिनाभित्रमा ल्याइने निगम स्रोतको भनाइ छ ।
निगम स्रोतका अनुसार चार लाख डलर मूल्यको स्पेयरपार्ट चिनियाँ पक्षले काठमाडौंमै उपलब्ध गराउनेछ । एउटा वाइडबडी र दुईवटा न्यारोबडी क्षमताको एउटा ह्याङ्गर बनाउन पनि चीन सहमत छ । ह्याङ्गर बनाउन चीन आफैंले चार अर्ब रुपैयाँसम्म खर्च गर्नेछ ।
प्रशिक्षक पाइलट उपलब्ध गराउने, चिनियाँ भाषाका सबै डकुमेन्ट अंग्रेजीमा उपलब्ध गराउने, वार्षिक बिमा शुल्क घटाउने र स्पेयरपार्ट काठमाडौंमै उपलब्ध गराउने सहमति चिनियाँ पक्षसँग भएको स्रोतले बतायो ।
निगम अपरेसन विभागका अनुसार पुस १५ भित्र एउटा एमए ६० र एउटा १२ ई ल्याउने गृहकार्य भएको छ । वाई १२ ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छैन । चिनियाँ पक्षले प्रशिक्षक पाइलट जहाजसँगै पठाए दुईवटै जहाज एकैसाथ ल्याउने तयारीमा निगम छ ।
सियानबाट कुनमिङ हुँदै काठमाडौं ल्याइने यो जहाजको कोपाइलट नेपाली वा चिनियाँ रहने विषयमा टुंगो लागिसकेको छैन । चिनियाँ जहाज सियानबाट कुन्मिङसम्म चीनको क्याप्टेनले ल्याउने र त्यसपछि नेपाली क्याप्टेनले काठमाडौं ल्याउने टुंगो लागिसकेको छ ।
चिनियाँ जहाज वाई १२ बाट दुर्गम क्षेत्रमा उडान भर्ने योजना रहे पनि लुक्ला, जोमसोम, हुम्लासहितका गन्तव्यमा एकपटक परीक्षण उडान चिनियाँ पाइलटबाटै गरिने भएको छ । त्यसपछि उपयुक्त विमानस्थलमा उडान हुनेछ । निगमका अनुसार १८ सिट क्षमतको जहाजमा न्यूनतम १२ जना यात्रु बोक्न सक्ने विमानस्थलमा वाई १२ सञ्चालन गरिनेछ । चीन जहाजसँगै प्रशिक्षक पाइलट पठाउन सहमत भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ जहाज भित्र्याउन कात्तिक पहिलो साता दिएको निर्देशनलाई निगमले १५ दिनभित्रै पालना गरेको छ । चिनियाँ जहाजकै कारण आन्तरिक उडानतर्फ गत आर्थिक वर्षमा ३२ करोड ९० लाख रुपैयाँ घाटा खाए पनि दुई सरकारबीचको सहमतिका कारण निगम चिनियाँ जहाज स्वीकार गर्नैपर्ने अवस्थामा पुगेको हो ।निगमको अपरेसन विभागले भने एकएक गरी जहाज ल्याउन उपयुक्त हुने सुझाएको छ । विभागको उडान तालिकाअनुसार पहिले एमए ६० र त्यसपछि एकदुई महिनाको फरक पारेर वाई १२ ल्याउने उल्लेख छ । निगम उच्च अधिकारीका अनुसार दुर्गम क्षेत्रमा उडान गर्न नसक्ने भए पनि चिनियाँ जहाज ल्याउने निर्णय भएको हो ।
नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ वटा चिनियाँ जहाज ल्याउने सम्झौता भएको थियो । सम्झौताअनुसार चीनले एक्जिम बैंकमार्फत ६ अर्ब ६७ करोड रुपैयाँबराबरको रकम ऋण तथा अनुदान दिने र सोही रकमबाट जहाज किन्ने उल्लेख थियो । त्यसमध्ये दुई अर्ब ९४ करोड रुपैयाँ अनुदान तथा तीन अर्ब ७२ करोड रुपैयाँ ऋण सहयोग हो । नेपालले पाउने ऋण वार्षिक एक दशमलव ५ प्रतिशतको ब्याजदरको हो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.