अमेरिकी राष्ट्रपतीका उम्मेदवारमध्ये साह्रै थोरै मतान्तरले मात्र एकको विजय हुने देखियो


म्यान्चेस्टर (न्युह्याम्पसायर), २२ कात्तिक ।अमेरिकी राष्ट्रपतीका उम्मेदवारमध्ये साह्रै थोरै मतान्तरले मात्र एकको विजय हुने देखिएको छ । इमेल काण्डबाट हिलारी क्लिन्टनको शिरमाथि मडारिइरहेको कालो बादलको पर्दा अमेरिकी सङ्घीय अनुसन्धान केन्द्र (एफबिआइ) ले हटाइदिएपछि हिलारी क्लिन्टनको सशक्त प्रतिद्वन्द्वी उम्मेदवार डोनाल्ड ट्रम्पलाई आरोप लगाउने भाकामा परिवर्तन आएको छ । लगभग दुईवर्ष अघिदेखिको निर्वाचन अभियान समाप्त हुनै लागेको र मतदान गर्ने दिनको पूर्वसन्ध्या अत्यन्तै संवेदनशील अवस्थामा आइपुगेको छ । केही दिन यतादेखि परिवर्तित नाटकीय लहर आङ्कलन गर्दा दुई उम्मेदवारमध्ये साह्रै थोरै मतान्तरले मात्र एकको विजय हासिल हुने देखिएको छ । विदेशमन्त्री छदा आफ्नो एकाउन्टमा रहेका हजरौँं इमेल मेटाएर भ्रष्टाचारजन्य कार्य र राष्ट्रघात गरेको भनी ट्रम्पले क्लिन्टनलाई पहिला पहिला कडा शब्दमा आरोप लगाउँदै आउनुभएको थियो । एफबिआइको निष्कर्ष र प्रतिवेदनबाहिर आएपछि, शब्द केही नरम भए तापनि इमेल काण्डको चर्चा गरी आरोपलाई निरन्तरता दिन ट्रम्पले छाड्नुभएको छैन । यता, ट्रम्पको योग्यता र तुरुन्तै आक्रोशित हुने स्वभावको धेरै दिनसम्म कडा आलोचना गरेपश्चात् क्लिन्टनले अब आफ्नो ध्यान “बाझाबाझ र झै–झगडाको अन्त्य र पुनः मैत्रिस्थापना” मा केन्द्रित रहने जनाउनुभएको छ । अमेरिकी राजनीतिमा दीर्घकालसम्म वर्चश्व कायम राख्न सफल हिलारी क्लिन्टन विश्वका उच्चपदमा पुग्न सफल थोरै महिलामध्ये एकमा नामाङ्कित हुनुहुन्छ । उहाँ आफ्नो प्रचारप्रसार अभियान तीव्र बनाउन हिजो दिनभरी नै लागिपर्नुभएको थियो । फिलाडेल्फियास्थित अफ्रिकी मुलका अमेरिकीको चर्चमा लगभग आध्यात्मिक प्रवचन जस्तो लाग्ने भाषणबाट सुरु भएको उहाँको अभियान यात्रा न्युह्याम्पसायर राज्यको म्यान्चेस्टरमा आयोजित चुनावी -यालीलाई सम्बोधन गरेपछि टुङ्गिीयो । म्यान्चेस्टरमा -यालीमा एक छोटो साङ्केतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । त्यहाँ उहाँले इराक–युद्धमा वीरगति प्राप्त गर्ने अमेरिकी सेनाका कप्तानका पिता, कानुन व्यवसायी, अमेरिकी– इस्लाम खिजर खानको छोटो अभिनन्दन गरी लोकगीत गायक जेम्स टेलरको प्रस्तुति– सफ्ट रक गायनमा भाग लिनुभयो । निर्वाचनको अन्तिम अभियानमा क्लिन्टनको साथमा देशभरी ठूला राजनीतिक हस्ती तथा सङ्गीत क्षेत्रका सेलिब्रिटी पनि खटिएका छन् । राष्ट्रपति बाराक ओबामा स्वयम् विभिन्न राज्यमा डेमोक्र्याटको पक्षमा मत माग्दै हिँडिरहनुभएको छ । सङ्गीतज्ञ स्टिभ वन्डर, रकस्टारः ब्रुस स्प्रिङ्स्टिन र जोन बोन जोभिजस्ता प्रख्यात कलाकारले भोट माग्न क्लिन्टनलाई सघाइरहेका छन् । अन्तिम अभियानको क्रममा उहाँ आजै ग्य्रान्ड -यापिड्स, पिट्सवर्ग र ¥याली पनि जानु हुने कार्यक्रम रहेको उहाँका निर्वाचन अभियन्ताले जानकारी दिएका छन् । त्यसैगरी डोनाल्ड ट्रम्प पनि मतदान हुने दिनसम्मै प्रचारप्रसार अभियानमै व्यस्त रहने जनाइएको छ । उहाँका निर्वाचन अभियान प्रबन्धक केल्यान कोन्वेकाअनुसार आज फ्लोरिडा, नर्थ क्यारोलिना, पेनसिल्भानिया र न्यु ह्याम्पसायर भ्रमण गर्ने ट्रम्पको कार्यक्रम रहेको छ । मङगलबार बिहान न्युयोर्कमा भोट खसालेपछि उहाँको फेरि पेन्सिल्भानिया, मिसिगन, ओहायो, नर्थ क्यारोलिना र न्युह्याम्पसायर जाने व्यस्त भ्रमण तालिका रहेको कोन्वे बताउँछन् । रासस/एपी

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.