छात्राहरू पढ्दापढ्दै बेहोस



जाजरकोट : लगातार एक सातादेखि विद्यालयका छात्रा बेहोस हुने, कराउने, थरथर काँप्नेलगायतका अनौठा लक्षण देखाउन थालेपछि जाजरकोट पजारुस्थित दुईवटा विद्यालयमा झाँक्री बोलाएर झारफुक गर्न थालिएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने पजारु ३ मा स्थित कालिका माध्यामिक र सोही गाविसको वडा नं ५ मा रहेको वागेश्वरी माविमा अध्यनरत छात्रा एकाएक बेहोस हुन थालेपछि विद्यालयमा पढाइ प्रभावित भएको छ । एक सातादेखि कक्षा ८, ९ र १० का विद्यार्थी विद्यालयमा गएको केही समयपछि बेहोस हुने गरेको बागेश्वरी माविका प्रधानाध्यापक गोरखबहादुर बुढाले बताए । दैनिक ६,७ जना छात्रा बेहोस हुने गरेको र बिरामी विद्यार्थीमा काँप्ने, दाँत टोक्ने, हडबडाउनेलगायतका लक्ष्यण देखिने गरेको बुढाले बताए । उनीहरूलाई स्थानीय स्वास्थ्यचौकीमा लगिए पनि निको नभएपछि विद्यालयका शिक्षक र अभिभावक आत्तिएका छन् । पजारु स्वास्थ्यचौकिका इन्चार्ज खेमराज थापाले उनीहरूको लक्षण फरक भएकोले मास हिस्टेरिया नभएर अन्य कारण हुन सक्ने बताएपछि झाँक्री बोलाएर उपचार थालिएको प्रधानाध्यापक बुढाले बताए । ‘झाँक्रीले झारफुक गरेपछि विद्यार्थी निको भएको जस्तो गरेर घर फर्केका छन्, हामी आफैं अचम्मित भएको छौं । यस्तो कहिल्यै भएको थिएन’, उनले भने । दिनहुँ छात्राहरू बेहोस हुन थालेपछि दुई विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.