साउदीमा सात वर्ष जेल बसेर निर्दोष ठहरिएका ११ नेपाली बालुवाटारमा..


काठमाडौं : विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीले मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' सँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।
सात वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा साउदी जेलमा परेका ११ नेपालीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नेपाल ल्याउने प्रक्रियामा गरेको सहयोगका लागि धन्यवाद दिँदै सात वर्ष लामो जेल जीवनले पारिवारिक जीवन अस्तव्यस्त भएको भन्दै सरकारसँग सहयोगका लागि अनुरोध गरेका छन् ।
कामका लागि साउदी गएका उनीहरुमाथि भारतीय नागरिकको हत्या अभियोग लगाइएको थियो । करिब साढे पाँच वर्षपछि अदालतले निर्दोष सावित गरेपछि प्रधानमन्त्री कार्यालय र नेपाली दूतावासको सहयोगमा डेढ महिनाअघि उनीहरु नेपाल फर्किएका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा पीडित भीमप्रसाद चिमरियाले भने, ‘हामी कामका लागि सात वर्षअघि साउदी गएका थियौं । भारतीय नागरिकको हत्या अभियोगमा हामीलाई जेलमा हालियो । अनुसन्धानका क्रममा हामीमाथि चर्को मानसिक र शारीरिक यातना दिइयो । पाँच वर्षपछि हामी निर्दोष सावित भयौं ।’
दूतावासका कर्मचारीले बेलैमा पहल गरेको भए एक दुई महिनामै छुट्न सक्ने भए पनि त्यो पहल नभएको गुनासो समेत उनीहरुले गरेका छन्।
‘दूतावासका कर्मचारीले पहल गरिदिएको भए हामी एक दुई महिनामै छुट्न सक्थ्यौं,’ पीडित युवाले भने, ‘कर्मचारीको लापरवाहीका कारण बिनाकारण सात वर्ष जेल बस्नुपर्यो । जेलबाट छुटेपछि नेपाल ल्याउन प्रधानमन्त्री कार्यालयले गरेको सहयोगका लागि आभारी छौं ।'
पीडित नेपालीले अब सरकारले परिवारको जीवन रक्षाका लागि भए पनि केही राहत उपलब्ध गराउने आशा गरेको बताएका छन्।
जेलबाट छुटेका नेपालीसँगको भेटमा कुराकानी गर्दागर्दै प्रधानमन्त्री भावुक बने । ‘तपाईहरुको कुरा सुन्दा निकै दुःख लाग्यो । विदेशमा यस्ता पीडा भोग्ने थुप्रै नेपालीहरु छन्,' प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो नेतृत्वमा सरकार बनेपछि मैले विदेशमा रहेका नेपालीलाई के गर्न सकिन्छ भनेर आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु ।'
विदेशमा जेलमा रहेका नेपालीको तथ्याङ्क संकलन, सीड मनीको व्यवस्था, कम्पनी टाट पल्टिएर बेरोजगार भएका नेपालीको उद्दार, विदेशमा काम गर्ने नेपालीका लागि म्यादी जीवन बीमाजस्ता व्यवस्था भएको समेत प्रधानमन्त्रीले बताए ।
‘तपाईहरुलाई राहत उपलब्ध गराउन सरकार सकारात्मक छ, यसबारे म आवश्यक कुरा गर्छु,' प्रचण्डले भने, ‘तपाईहरु निर्दोष भएका कारण साउदी सरकारसँग पनि कुटनीतिक पहल गरेर राहत उपलब्ध गराउने कोशिस हुनेछ ।'
प्रधानमन्त्रीले कर्मचारीको लापरवाहीका कारण दुःख पाएको भए समीक्षा हुने आश्वासन समेत दिएका छन्।
‘साउदीमा भएको मृत शरीर नेपाल ल्याउन र परिवारलाई राहतका लागि म सम्वेदनशील छु,' प्रधानमन्त्री प्रचण्डले भने ।
सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहुँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका बीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमरियाले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
भेटमा क्रममा पीडितहरुले साउदी जेलभित्रै मृत्यु भएका झापा मधुबनका उमेश श्रेष्ठको मृत शरीर नेपाल ल्याउने व्यवस्था गर्न र परिवारलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.