राष्ट्रपतिले हारेपछि निर्वाचन आयुक्त देश निकाला

डकार सिनेगलः गाम्बियामा गत महिना सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धेरै लामो अवधिसम्म मुलुकको शासन चलाएका राष्ट्रपति याह्या जामेले पराजय भोग्नु परेको छ ।
नवनिर्वाचित राष्ट्रपति आदामा ब्यारोको विजय र जामेको पराजय भएको औपचारिक घोषणा गर्ने प्रमुख निर्वाचन आयुक्त अलिउ मोमार निजाइलाई भने देश छाडी पलायन हुनुपर्ने बाध्यता आइलागेको छ ।
प्रमुख निर्वाचन आयुक्त निजाइका आफन्तहरूका अनुसार आफ्नो पराजयबाट आक्रोशित राष्ट्रपति जामे र उनका समर्थकहरूले ज्यानै लिनेसम्मको आक्रमण गर्ने भनी लगातार धम्की दिएका थिए । धम्कीकै कारण उनी स्वदेशबाट पलायन भई निर्वासनमा जान बाध्य भएका हुन् ।
हाल उनी सिनेगल आई शरणार्थी जीवन बिताइरहेको प्रमुख आयुक्त निजाइका परिवारजनले एसोसिएटेड प्रेसलाई बताएका छन् । नवनिर्वाचित राष्ट्रपति आदामा ब्यारो र निवर्तमान राष्ट्रपति याह्या जामेबीच गहिरो राजनीतिक मतभेद रहेका कारण यी दुईबीचको अन्तरद्वन्द्वबाट उत्पन्न पहिलो निशानामा प्रमुख निर्वाचन आयुक्त निजाइ परेका छन् ।
लगातार २२ वर्षभन्दा बढीसम्म गाम्बियाको शासन सत्ता चलाएका राष्ट्रपति जामेले गत महिना सम्पन्न निर्वाचनमा आफ्नो पराजय भएको सुरुसुरुमा स्वीकार गरेका थिए । निर्वाचनमा पराजित भए पनि उनले पद नछोड्ने अडान लिएका छन् ।
जामेले निर्वाचन र मतगणना परिणाममा धाँधली गरी आफूलाई हराइएको भन्ने आरोप लगाएका छन् । उनको पार्टीले निर्वाचन परिणामविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
यसैबीच, नवनिर्वाचित राष्ट्रपति ब्यारोले आगामी १९ जनवरीका दिनदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्ने योजना रहेको बताएका छन् ।
गाम्बियाका राजनीतिक विश्लेषकहरूका अनुसार निवर्तमान राष्ट्रपति जामेको विरोध गर्ने हजारौं नागरिक उनको २२ वर्षे शासनकालमा देश छाडी भाग्न बाध्य भएका थिए । त्यसैगरी सयौं नागरिकलाई कारागारमा कोची चरम यातना दिने वा कतिपयलाई जेलमै मारिदिनेसम्मका जघन्य अपराधका घटना भएका छन् । —रासस/एपी

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.