गगन थापाको निर्देशनपछि वीर अस्पतालमा चौबीसै घन्टा डायलासिस सेवा

काठमाडौँ: स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनपछि मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ ।
बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि २४ सै घन्टा बनाइएको अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिए ।
दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि अहिले यसमा दोब्बरले वृद्धि भई दैनिक २८ जनाले यो सेवा पाउन सक्ने निर्देशक बस्नेतले बताए ।
अस्पतालमा पच्चीस वर्षअघि डायलासिस सेवा सुरु भए पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता थियो ।
बिरामीको बाध्यताको सम्बोधन भएको जानकारी दिदैँ निर्देशक बस्नेतले भने, ‘स्वास्थ्यमन्त्री गगन थापाले देशभर डायलासिस सेवा बढाउने भनेपछि वीर अस्पतालले पनि बिरामीलाई थप सेवा दिन र सेवा नपाएर कसैले पनि फर्कन नपरोस् भनेर आइतबारदेखि २४ सै घन्टा यो सेवा सुरु गरिएको हो ।’
अहिले वीरमा हप्तामा नियमति रुपमा ४२ जनाले डायलासिस गराउँदै आएका छन् । यसै वर्षमात्रै सरकारले सम्पूर्ण डायलासिस सेवा पूर्णरुपमा निःशुल्क गरेको छ ।
देशभरका सरकारी र निजी गरी ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । सरकारी अस्पतालमा २४ सै घन्टा यो सेवा सुरु गर्ने वीर पहिलो अस्पताल हो । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.