पच्चीस करोडभन्दा बढी जनसङ्ख्या रहेको विश्वको सबैभन्दा ठूलो मुस्लिम देशमा धार्मिक सहिष्णुता

इन्डोनेसिया, पच्चीस करोडभन्दा बढी जनसङ्ख्या रहेको विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसियाको बाली सहरमा देखिएको धार्मिक सद्भाव उदाहरणीय छ । जताततै मन्दिर र हिन्दू देवताहरुका मूर्ती रहेको बालीमा सबैको साझा मन्त्र हो ‘ओम शान्ति’ । वर्षेनी करिब आधा करोड पर्यटक पुग्ने सो सहर धार्मिक पर्यटनको एक उत्कृष्ट गन्तव्य पनि हो ।


सार्वजनिक कार्यक्रम हुन् वा विद्यालय विश्वविद्यालयका कक्षा कोठाहरुमा सबैले आफ्नो भनाइ राख्नुअघि गरिने मन्त्रोच्चारण हो ‘ओम शान्ति’ र ‘स्वास्त्यास्तु’ । बाली र विशेषगरी बाली आउने इन्डोनेसियाका अरु नागरिकले पनि देखाउने सद्भाव हो यो । यहाँ आउने मुस्लिम होस् वा कुनै नागरिकले पनि यो सदासयता देखाउने गर्छन् । यहाँ आउने पर्यटकको अर्को चासो भनेको विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसियाको यो सहरमा के कसरी ठूलो सङ्ख्याका हिन्दू धर्मावलम्बी छन् र बालीमा कसरी यो संयोग मिलेको छ भन्ने पनि रहने गर्दछ ।
करिब ४५ लाख जनसङ्ख्या रहेको बालीमा अधिकांश हिन्दू धर्माबलम्बी छन् । सन् २०१४ को तथ्यांकअनुसार यहाँ कम्तीमा पनि ८४ प्रतिशत हिन्दू नागरिक छन् । उनीहरुमध्ये अधिकांशले गणेश र शिवको पूजा गर्छन् । अर्को रमाइलो पक्ष त के छ भने उनीहरुले आफ्नो घरको मूलद्धार तथा छत्मा हिन्दू देवी देवताका मुर्ती राखेका छन् र सबै देवी देवतालाई उनीहरुले गणेशाा ९गणेश० नै भन्ने गर्छन् ।
गत डिसेम्बर ८ मा इन्डोनेसिया सरकारले आयोजना गरेको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलन उद्घाटन गर्दा इन्डोनेसियाका राष्ट्रपति जोको बिदोदोले जब दुई हात जोडेर तीन पटकसम्म ओम शान्ति बाचन गर्नुभयो, त्यतिबेला हामी हिन्दू धर्मावलम्बी नेपाली र भारतीहरुलाई आश्चर्य लाग्नु स्वाभाविकै थियो । सो सम्मेलनमा विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री एवम् प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमस्थाल स्थानीय नुसा दुवास्थित वेस्टिन होटलको हल भरिभराउ थियो । उद्घाटनका क्रममा उहाँले बाचन गर्नुभएको ओम शान्ति र स्वास्त्यास्तु मन्त्रको अर्थ माइक्रोमोनमार्फत लगाइएपछि बोल्ने क्रममा विश्वका अधिकांश मन्त्री तथा प्रतिनिधिहरुमा पनि यही उच्चारण गरे । यो वातावरणले हामी नेपाली प्रतिनिधिहरुलाई भने वास्तवमै खुसीयाली छाएको थियो ।
उहाँले आफ्नो सम्बोधनको क्रममा सुरुमा तीन पटक ओम शान्ति र ‘ओम स्वास्त्यास्तु’ मन्त्रोच्चारण गर्नुभयो । र सम्बोधनको अन्त्यमा पनि यसरी नै दोहो¥याउनुभयो । त्यसपछि कैयौँ देशका प्रतिनिधिले आफूले बोल्ने क्रममा लबज नमिलेपनि यो मन्त्रोच्चारणको प्रयत्न गरे । त्यस समयमा सो सभाहलमा धार्मिक सहिष्णुताको एक अनुपम नमूना देखिँदै थियो । उद्घाटन लगत्तै नेपालका परराष्ट्रमन्त्री डा।प्रकाश शरण महतले आफ्नो सम्बोधनमा नेपाल सदैव ‘बसुधैव कुटुम्बकम’ को मूलमन्त्रमा विश्वास गर्ने दृष्टान्त प्रस्तुत गर्नुभयो । यसले पनि बालीको धार्मिक सहिष्णुतामा अरु मिठास थपेको थियो ।
बालीको कराम्बितान जिल्लामा पुगेका उक्त कार्यक्रमका विशिष्ट पाहूनाहरुको स्वागतार्थ यहाँको विद्यालयका ससाना नानीहरुले प्रस्तुत गरेको एक कार्यक्रमले पनि यसैगरी विश्वका नेताहरुको ध्यान खिच्यो । बालीको धार्मिक सहिष्णुताको यो अर्को एउटा उदाहरण थियो । यो विद्यालयको नाम हो बाली बिना इन्सानी इस्लामिक बोर्डिङ स्कुल । इस्लामिक सो विद्यालयमा हिन्दू धर्मका बारे पनि अध्यापन हुने रहेछ । एउटै विद्यालयमा हिन्दू र मुस्लिम धर्मग्रन्थबारे पढाई हुन्छ र आआफ्ना संस्कृति अनुसारका कार्यक्रम पनि गर्ने गरिन्छ ।
करिब २०० विधार्थी रहेको सो विद्यालयमा आधा जति हिन्दू विद्यार्थी रहेछन् । त्यस्तै १६ जना इस्लाम र त्यति नै सङ्ख्यामा हिन्दू शिक्षक छन् । इन्डोनेसिया र बालीको संकृति, पर्यटन र कलाकारिताका बारेमा यहाँ पढाउने गरिन्छ । यहाँका विद्यार्थीले देखाएको मञ्जुश्री नाचले बालीमा हिन्दू धर्मको बलियो प्रभावका बारेमा दृष्टान्त नै प्रस्तुत गरेको थियो । त्यस्तै हिन्दू र इस्लाम धर्मको अध्ययन गरिरेहका साना नानीहरुले आ आफ्नो संस्कारका कला प्रस्तुत गरेका थिए ।
यहाँ अध्यापन गराउने हिन्दू धर्मकी शिक्षिका सुरादानी पुत्रीले यस विद्यालयलाई इन्डोनेसियाको धार्मिक सहिष्णुताको एक उत्कृष्ट उदाहरण भएको बताउनुभयो । उहाँले धर्मका आधारमा कुनै विद्यार्थी वा शिक्षकलाई भेदभाव नगरिएको जानकारी दिनुभयो । सर्वधर्म सम्मान र धार्मिक तथा सामाजिक सहिष्णुताका बारेमा धेरैजसो पाठ्यक्रमहरु राखिएको जानकारी पनि उहाँले दिनुभयो । त्यस क्षेत्रमा हिन्दू र इस्लाम नागरिकको बसाई रहेको छ र उनीहरु आपसमा मिलेर बसेका छन् ।
इन्डोनेसियाका धार्मिक मामिलासम्बन्धी मन्त्री फिरी मेदीले उक्त विद्यालय इन्डोनेसियामा विद्यमान धार्मिक सहिष्णुताको एक उदाहरण हो भन्नुभयो । उहाँले बालीमा अधिकांश हिन्दू धर्मावलम्बी छन् र देशको अरु क्षेत्रमा पनि अधिक मुस्लिम र अरु धर्मका व्यक्ति भए पनि धार्मिक सद्भावको पाठ बालीबान नागरिकले सिकुन् भन्ने उदाहरण सरकारले सधैँ प्रस्तुत गर्ने गरेको उहाँले बताउनुभयो ।
बालीबाट साउनको सोमबार नेपालको पशुपतिनाथमा बोलबम आउने गरेको पनि बालीबासी बताउछन् । त्यस्तै शिवरात्रिमा नेपाल आउने नागरिक पनि रहेका छन् । नेपालबाट आएको भनेपछि उनीहरुले हिन्दू पिपुल भनेर विशेष सम्मान गर्ने । तर पनि यत्रो ठूलो हिन्दूको सम्बन्धलाई नेपालसँग जोड्ने प्रशासनिक र कूटनीतिक संयन्त्र भने यी दुइबीच भेटिएन । त्यसैले परराष्ट्रमन्त्री डा महतले इन्डोनेसियाली विदेशमन्त्री रेट्नो मार्सुदीसँगको वार्तामा नेपालमा इन्डोनेसियाको दूताबास खोल्न आग्रह गर्नुभयो ।
सो द्धिपक्षीय वार्ताका क्रममा विदेशमन्त्री मार्सुदीले इन्डोनेसियाले नेपालको आइएमई समूहसँग मिलेर नेपालमा रेल सेवाको क्षेत्रमा कामगर्ने बारेमा अनुसन्धान सुरु गरेको बताउनुभएको थियो । त्यस अवसरमा नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन इन्डोनेसियालाई आग्रह गर्नुभयो ।
बालीमा नेपाली भाषासँग मिल्ने कैयौँ शब्दहरु पसल वा व्यवसायको विज्ञापनका लागि राखिएका बोर्डहरुमा देखियो । अंग्रेजी अक्षरले रोमनमा लेख्ने उनीहरुको भाषामा नाम नेपालीसँग मिल्दाजुल्दा जस्तै पुष्पा, शान्ता, पुष्पिता, मन्दिरा, मिरा, परिबता ९पार्वता०, मेघावती आदि देखियो । महिलाको नामको अन्तिममा प्राय पुत्री शब्द जोड्ने रहेछन् । त्यस्तै पुरुषका नाममा हरिबोल, रामा९राम०, मेघनाथ, रामायण, बलदेव, बली, आदित्य, विष्णवे, आदिपुत्र, गणेशा ९गणेश० धेरै आउने रहेछ ।
बिदा मनाउन वर्षेनी विश्वका लाखौँ पर्यटक यहाँ आउने गर्छन् । इन्डोनेसिया सरकारको तथ्यांकमा गत वर्षमात्र बालीमा ४६ लाखभन्दा बढी पर्यटक आएका थिए । सरकारले बालीलाई अन्तर्राष्ट्रिय सभा सम्मेलनस्थलका साथै पर्यटकीय हबका रुपमा विकास गरिरहेको छ । बाली डेमोक्र्यासी फोरम पनि इन्डोनेसिया सरकारले बर्षेनी आयोजन गर्ने गरेको एक कूटनीतिक मञ्च हो । यस वर्ष आयोजित उक्त मञ्चको नवौँ सम्मेलनको नारा प्रजातन्त्र, धर्म र बहुलवाद थियो । यस थिममा पनि धार्मिक साम्प्रदायिकताका कुराहरु थिए । बालीमा हाल रहेको पूर्वाधारको संरचनाले उनीहरु दुई वर्षभित्रै यहाँ कम्तीमा पनि एक करोड पर्यटक भित्र्याउने योजनामा छन् । सरकारी अधिकारीहरु यो महत्वाकांक्षा पूरा गर्नेतर्फ लागेको बताउँछन् ।
पर्यटकीय आकर्षणका हिसाबले संसारकै प्रसिद्ध यस नगरमा नेपालको भक्तपुरमा जस्तै पुराना र ऐतिहासिक महत्वका मठमन्दिरहरु छन् । यहाँ आउने पर्यटकहरुको मुख्य आकर्षण पनि यही नै हो । साथै चित्ताकर्षक समुद्री किनारा यहाँ पर्यटक रमाउने अर्को एक अति सुन्दर गन्तव्य हो । त्यस्तै सयौं र हजारौँ वर्ष पुराना हिन्दू धर्म एवम् पूरातात्विक महत्व र विविध शैलीका मठमन्दिहरु यहाँको अर्को आकर्षण हो । उलु वातु, तानालत, विष्णु गरुडा, बातुबोलोन, महाभारत, तीर्थगंगा यहाँका प्रसिद्ध पर्यटकीयस्थलहरु हुन् । यी स्थल विश्वका पर्यटकका लागि आकर्षण मात्र नभएर धार्मिक आश्थाका केन्द्र पनि हुन् ।
यसलाई बाली मात्र नभनेर बाली दीप भनिन्थ्यो । यो इन्डोनेसियाको दक्षिणी भूभागमा अवस्थित टापू हो र यसैमा पछि सहर बसेको छ । करिब २००० बिसीमा पत्ता लागेको यस बाली टापूमा ब्रम्हा, बिष्णु, महेश्वरको नै उपस्थिति रहेको विश्वास छ । त्यसैले प्राचीन समयदेखि नै यहाँ हिन्दू धर्म, कला र संस्कृतिको प्रभाव रहेको पाइन्छ । बाली नाम पनि बली राजाको उपस्थिति वा सुग्रिभ र बालीको शासन रहेको हुनाले राखिएको पनि धार्मिक विश्वास छ । बालीमा १६ औं शताब्दिमा युरोपियनहरुको प्रवेश भएको इतिहास छ । त्यसपछि इन्डोनेसिया एक मुस्लिम राष्ट्रका रुपमा स्थापित भएको भए पनि हिन्दू धर्मको प्रभाव भने यहाँ अमिट रहेको छ । आज पनि इन्डोनेसियाले विश्वमा बालीलाई एक हिन्दू धार्मिक नगर र धार्मिक सहिष्णुताको उदाहरणका रुपमा प्रस्तुत गर्ने गर्दछ । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.