प्रचण्डले भने–राष्ट्रपतिको छोरीको बिहेमा ज्ञानेन्द्र आउनु अशुभ संकेत

काठमाण्डु, 6  माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नी छोरीको विवाहमा निम्ता दिएपछि र ज्ञानेन्द्र निम्ता स्वीकार्दै बरबधुलाई आशिर्वाद दिन शीतलनिवास पुगेपछि त्यसबारे राजनीतिक वृत्तमा विभिन्न चर्चा परिचर्चा हुन थालेका छन् । त्यसबारे कसैले सकारात्मक र कसैले नकारात्मक टिप्पणी गरेका छन । सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र भने सशंकित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसलाई अशुभ संकेतको संज्ञा दिएका छन् । राष्ट्रपति पुत्रीको विवाहको समय विश्व उर्जा सम्मेलनमा सहभागी हुने सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्केलगत्तै त्यसबारे चासो राखेको स्रोतले जनायो । ज्ञानेन्द्रको शीतलनिवास प्रवेशलाई उनले ‘गणतन्त्र, संघीयता र उल्ट्याउने जस्ता उपलब्धी उल्ट्याउने र चुनाव हुन नदिएर संविधान असफल पार्ने डिजाइन’ भनेका छन् । बालुवाटार उच्च स्रोतले दिएको जानकारीअनुसार पूर्वराजा ज्ञानेन्द्र र एमाले अध्यक्ष केपी ओलीबीच कुनै न कुनै रुपको राजतन्त्र फर्काउने सहमति भएको सूचना आफूले पाएको दाबी प्रचण्डको छ । ‘एकातिर भीम रावलले संघीयता सिध्याउन राष्ट्रपतिकै अगाडि मधेसी मोर्चा तराईका सशस्त्र समूह मिलेर युद्ध गर्दैछन् भन्ने हल्ला चलाउने, अर्कोतिर शीतलनिवासमा ज्ञानेन्द्रलाई रातो कार्पेट बिछ्याउने यो सबै डिजाइनमा भइरहेको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ज्ञानेन्द्र र ओलीका बीचमा नाति राजतन्त्र कायम गर्ने सहमति भएको सूचना मैले पाएको छु ।’ उनले आफ्ना विश्वासपात्र र सहयोगीसँग एमालेलाई आफूहरुले अग्रगामी मोर्चामा ल्याउन जोडबल गरे पनि अन्ततः राजतन्त्रकै धारमा फर्कन खोजेको संगीन आरोप समेत लगाएका छन् । ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता सबै बेकार, बरु राजा नै ठीक भन्ने ठाउँमा एमालेका एकथरी मानिस पुगेका छन्’, प्रचण्डको टिप्पणी छ । 
भुसाल भन्छिन्–व्यक्तिगत विषयमा टिप्पणी छैन
यद्यपि माओवादी प्रवक्ता पम्फा भुसालले भने ज्ञानेन्द्र विहेमा सहभागी भएका विषयमा टिप्पणी गर्न चाहिनन् । उनले त्यसलाई व्यक्तिगत सम्बन्धका रुपमा परिभाषित गरिन् । ‘कतिपय कुरा व्यक्तिगत सम्बन्धमा पनि आधारित हुन्छ’, उनले काठमाण्डु टुडेसँग भनिन्, ‘ज्ञानेन्द्रलाई राष्ट्रपतिले व्यक्तिगत सम्बन्धका आधारमा निम्ता दिनुभयो होला, यसमा हामीलाई भन्नु केही छैन ।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.