अन्ततः संविधान संशोधनबाट यसरी पछि हट्दैछन् प्रचण्ड, टोपबहादुर रायमाझीले गरे खुलासा



काठमाडौं, ६ माघ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संविधान संशोधन प्रस्तावबाट अब प्रधानमन्त्री प्रचण्ड पछाडि हट्ने खुलासा गरेका छन् । मोर्चासंग भएको सहमतिअनुसार संशोधन प्रस्ताव टेबुल गरिएपनि अब त्यो पास हुन नसक्ने उनको भनाई छ । पार्टीको संसदीय दलको उपनेता एवं पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीले आफ्नो एक अन्तर्वार्तामा संशोधन विधेयक पास गराउने काम सरकारको जिम्मेवारी भन्दा बाहिरको कुरा भएकाले अब सरकारले केही गर्न नसक्ने बताए । संशोधन प्रस्ताव पास गर्छु भनेर सरकारले मोर्चासँग सम्झौता पनि नगरेको र अहिले संविधान संशोधन गरेर पहाडबाट तराई छुट्याउन पनि नसकिने भएकाले अब प्रधानमन्त्री प्रचण्ड यसबाट पछाडि हट्ने उनको भनाई छ । प्रदेश नम्बर पाँचसहित कुनै पनि पहाडी भूगोल पहाडबाट छुट्याएर तराईलाई अलग गर्नु राष्ट्रहितमा नभएको ठोकुवा गर्दै उनले १० प्रतिशतको मागको लागि तराईलाई पहाडबाट टुक्र्याउन नहुने धारणा राखे । तराईलाई मात्रै टुक्र्याएर अलग प्रदेश बनाउने काम कुनै पनि संघीयतामा नपर्ने उनको भनाई छ । उनले संशोधन प्रस्तावको प्रक्रिया नै अगाडि नबढ्ने भएकाले आफूले त्यसका विरुद्ध मतदान गर्ने अवस्था पनि नआउने उनको विश्वास छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.