चैत १ गतेदेखि चुरोट बेच्न छुट्टै पसल, किराना/पान पसल वा नाङ्लोमा पनि बेच्न नपाइने


सरकारले चुरोट र खैनी बिक्रीसम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ। यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. रामेश कोइरालाले सेतोपाटीलाई जानकारी दिए। 'आज सरकारले नीतिगत निर्णय गर्यो,' उनले भने, 'अब निर्देशिका बनाएर यसको कार्यान्वयन सुरु हुने छ।' यो नियम लागू भएपछि अन्य सामान बेच्ने पसलहरूले चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ बेच्न पाउने छैनन्। 'चुरोटका साथै अन्य सुर्तीजन्य पदार्थ बेच्न सरकारको स्वीकृति लिनुपर्छ,' डा.कोइरालाले भने,'यसका लागि छुट्टै बिक्रीकक्ष बनाउनु पर्छ। अन्य सामग्री बिक्री गर्ने ठाउँबाट बेच्न पाइँदैन।' किराना पसल, पान पसल तथा बाटोमा राखिने नाङ्लो पसलबाट अब चुरोट बिक्री गर्न पाइने छैन। यस्तै १८ वर्षमुनिका बालबालिकालाई चुरोट बिक्री गर्न नपाइने प्रावधानलाई अझ कडाइ गरिने डा.कोइरालाले बताए। सुर्तीजन्य पदार्थ बिक्री गर्ने प्रत्येक पसल अगाडि '१८ वर्षमुनिका बालबालिका र गर्भवती महिलालाई बिक्री गरिने छैन र बिक्री गर्न लगाइने छैन' भन्ने साइनबोर्ड राख्नुपर्ने छ। यो नियम लागू भएसँगै खुल्ला रूपमा चुरोट बिक्री गर्न पाइने छैन। 'खिल्ली चुरोट बिक्री गर्न पनि पाइने छैन, बट्टामात्रै बेच्न पाइने छ,' उनले भने।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.