गुण्डा नाइके काजी शेर्पाद्वारा ६५ लाखमा काठमाडौंको ६ रोपनी जग्गा झ्वाम !



काठमाडौं– ‘गुण्डा नाइके’ काजी शेर्पाले ६५ लाखमै राजधानीको ६ रोपनी ४ आनामा फैलिएको जग्गा आफ्नो नाममा पारेको खुल्न आएको छ । रामेछापको रस्नालु गाविस स्थायी घर भएका अर्जुन कार्कीबाट शेर्पाले काठमाडौंको नयाँपाटीमा रहेको जग्गा यसरी ‘धाक धम्की’ दिएर हत्याएका हुन् । गत पुस १४ गते काठमाडौंको चुच्चेपाटीबाट पक्राउ परेका शेर्पाको विरुद्ध करोडौं मुल्यको जग्गा जबर्जस्ती राजीनामा पास गर्न बाध्य बनाएर ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी परेको छ । आर्थिक समस्याका कारण अर्जुनले केही बर्षअघि काजीसँग ६५ लाख सापटी लिएका थिए । त्यो पैसा नतिरुन्जेल नयाँपाटीको जग्गा आफ्नो नाममा राजिनामा पास गरिदीन कार्कीलाई उनले बाध्य पारेको खुल्न आएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । लामो समय ६५ लाख सावाँ बापतको ब्याज समेत लिएका काजीले ‘तपाईले दिएको ६५ लाख साँवा रकम लिनुस्, मेरो जग्गा फिर्ता गर्दिनुस’ भन्दा ‘तपाईलाई चिन्दिन, म यहाँको डन हुँ, बिचार गर्नु !’ भन्दै हप्काएपछि कार्की प्रहरी शरणमा पुगेका थिए । ‘धेरैलाई धम्क्याएर त्रास सिर्जना गरेको आरोपमा नियन्त्रणमा लिएर शेर्पामाथि अनुसन्धान गरिरहेका छौं’ एसएसपी खनालले भने, ‘जग्गा धनीलाई यसअघि पनि पटक–पटक धम्की दिएको खुल्न आएको छ ।’ गुण्डागर्दीकै आडमा ठेक्कापट्टा ब्यवसाय शुरु गरेका शेर्पाले ओखलढुंगा–सल्लेरी सडक निर्माण गरिरहेका छन् । सड्क पिच गर्नका लागी आवश्यक अलकत्रा (विटुमिन) खरिद गरेको पैसा समेत शेर्पाले नतिरेर धाक–धम्की दिएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी खनालका अनुसार ‘विटुमीन तथा ब्यारेल उद्योग लिमिटेड’ लाई शेर्पाले दिएको १ करोड ६८ लाखको चेक बाउन्स भएको छ । शेर्पाको निर्माण कम्पनी ‘वैदेशी ईक्विपमेन्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि’ले विटुमीनलाई दिएको ईन्भेष्टमेन्ट बैंकको चेक बाउन्स भएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.