बिहे गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद

जाजरकोटः जिल्लाको खगेनकोट २ की २१ वर्षीय मीना दमाई (नाम परिर्वर्तित) ले पतिसँग अंश दाबी गर्दै केही समयअघि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता गराइन् । केही समयपछि बादी र प्रतिवादीबीच अदालतमै मिलापत्र गरेको कागजमा दुवैले सहीछाप ठोके । १६ वर्षको उमेरमा विवाह गरेकी मीनाकी एउटी छोरी छिन् ।
विवाह गरेको दुई वर्षपछि पति वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । दुई वर्ष विदेश बसेर फर्केलगत्तै पतिपत्नीबीच खटपट सुरु भएको थियो । आफू विदेश गएको बेला पत्नीले परपुरुषसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै पतिले दिनहुँ कुटपिट गर्न थालेपछि उनीहरू सम्बन्ध विच्छेदको अवस्थासम्म पुगेका हुन् । ‘पढ्ने उमेरमा लहैलहमा बिहे गरें । विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद गर्नुपर्‍यो’, मीनाले पछुताउँदै भनिन्, ‘चरम यातना र हिंसा सहेर बस्नुभन्दा एक्लै बस्छु भनेर सम्बन्ध विच्छेद गरेकी हुँ । मेरोजस्तो अवस्था कसैले भोग्नु नपरोस् ।’
नायकवाडा २ की १९ वर्षीया कालिका मल्ल (नाम परिर्वर्तित) ले पतिसँग अंश भराई सम्बन्ध विच्छेद गरिपाऊँ भनी जिल्ला अदालतमा मुद्दा दर्ता गराइन् । मुद्दा दर्ता भएको केही समयमै उनीहरूले अदालतमै आएर मिलापत्र गरेको कागज गरेर गए । मुद्दा खारेज भयो । अहिले दुवैजना अलगअलग छन् । १५ वर्षको उमेरमै विवाह गरेकी मल्लको सम्बन्ध चार वर्ष पनि टिक्न सकेन । उनका पति वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका थिए । उनी फर्केपछि खटपट सुरु भयो ।
कारण एउटै थियो, अवैध यौन सम्बन्धको आरोप । शंका र आशंकाले उनीहरूबीच पनि दिनहुँ झगडा हुन थाल्यो र सम्बन्ध विच्छेद भएर टुंगियो । ‘८ कक्षामा पढ्दापढ्दै त्यही मान्छेको विश्वासमा बिहे गरें । बिहे गरेपछि पढाइ बन्द भयो । अहिले त्यही विश्वास गरेर सँगै जीउने सँगै मर्ने कसम खाएको मान्छेले धोका दियो । म के गरुँ ? मेरो के दोष थियो’, कालिका भन्छिन्, ‘यतिबेला म घर न घाटकी भएकी छु । उमेर नपुग्दै बिहे गरेर ठूलो भूल गरेंछु ।’
शारीरिक, मानसिक र कानुनी हिसाबले बिहे गर्ने उमेर २० वर्ष तोकिएको छ तर जाजरकोटमा विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेदका घटना बाहिर आउन थालेका छन् । १३/१४ वर्षकै उमेर बिहे गर्ने अनि २०/२२ वर्षको उमेरमै सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै जान थालेको छ । अंश माग दाबी गर्दै दायर गरिएका अधिकांश सम्बन्ध विच्छेदका घटना लेनदेनमा मिल्ने गरेका छन् ।
मुद्दा लड्दा भनेको जति सम्पत्ति नपाइने र लामो झन्झट हुने भएकोले नगद रकम लिएर मिलापत्र गरी सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको छ । अधिकांश सम्बन्ध विच्छेद वैदेशिक रोजगारीका कारण हुने गरेको कानुन व्यवसायीले जनाएका छन् । गत वर्ष ४३ वटा मुद्दामा मिलापत्र भएकोमा चालू आवमा १९ वटा मुद्दामा मिलापत्र भएको जिल्ला अदालत जाजरकोटले जनाएको छ । तीमध्य अधिकांश सम्बन्ध विच्छेदकै मुद्दा रहेको जिल्ला अदालतका नायब सुब्बा सर्पराज खत्रीले बताए । त्यस्तै यसवर्ष सम्बन्ध विच्छेदका लागि दर्ता भएका ३३ मुद्दामध्ये २३ वटा फछ्र्यौट भएका छन् । ती अधिकांश घटनामा ३० वर्षमुनिका महिला रहेका छन् ।
सानै उमेरमा विवाह गर्ने र विवाह गरेको केही सममै श्रीमान् वैदेशिक रोजगारमा विदेश जाने गर्नाले सम्बन्ध विच्छेदका घटना बढ्दै गएको जिल्ला न्यायाधीश लीलाराज अधिकारीले बताए । ‘ श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमतीलाई सासूससुराले धेरै काममा जोताउने, त्यसपछि माइत गएर बस्ने अनि परपुरुषसँग अवैध यौन सम्पर्क गर्ने गरेको आरोप लाग्नु अधिकांश सम्बन्ध विच्छेदको मुख्य कारण देखियो’, न्यायाधीश अधिकारीले भने, ‘पहिला मुद्दा हाल्छन् अनि केही समयपछि मिलापत्र गरिदिनुपर्‍यो भनेर आउँछन् ।’
रकम लेनदेनबारे आफूहरूलाई कुनै जानकारी नहुने न्यायाधीश अधिकारीको भनाइ छ । ‘चेतनाको अभावमा उमेर नपुग्दै बिहे गर्ने र बिहे गर्ने उमेरमा सम्बन्ध विच्छेद गर्ने समस्या विकराल रूपमा देखिन थालेको छ’, जिल्ला न्यायाधीश अधिकारीले भने, ‘यो सभ्य समाजका लागि राम्रो संकेत होइन ।’ महिला विकास कार्यालयका अनुसार जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.