अस्ट्रेलियामा नक्कली बिहा गरेर आउने नेपालीहरुको बिगबिगी


उच्च अध्ययनको आकर्षक केन्द्रका रूपमा चिनिएको अस्ट्रेलियामा स्तरीय अध्यनसँगै केही फरक चिन्तनले चिन्ता थपिएको छ। अस्ट्रेलियामा विद्यार्थीको बढ्दो चापसँगै केही खराब प्रवृत्ति पनि बढेको छ। महंगो पढाइ र बिदेश जाने रहर बीच फस्टाएको तालमेलले नक्कली बिहा गरेर यहाँ आउने प्रवृती ह्वात्तै बढेको छ। नक्कली बिहे गरेर डिपेन्डेडमा आउने र यहाँ आएपछि डिभोर्स गर्ने परम्पराले नेपाली समाजलाई केही बोझिलो बनाएको छ। रमेश र निशा (नाम परिवर्तन) सात लाख नगद तिरेर अस्ट्रेलिया आएको डेढ वर्ष भयो, अहिले उनीहरुबिच ठाकठूक भएपछि प्रवेशाज्ञाको नयाँ खोजीमा भौतारिदै छन्। पहिले निशाको स्टुडेन्ट भिसामा डिपेन्डेड भएर रमेश सिड्नी आएका हुन्। तर पति पत्नी बिचको नक्कली सम्वन्ध धेरै लामो चल्न सकेन। निशाले अर्को ठिटोसँग आफ्नो मायाजाल बुनेपछि रमेशको बिचल्ली सुरू भएको छ। पढाइ सकिन मात्र आधा वर्ष बाँकि भए पनि निशाले आफ्नो स्थायीत्वको लागि अर्को केटासँग बिवाह गर्ने निर्णय गरेपछि रमेश डिभोर्सको चक्करमा परेका छन्। ‘गरौ भिसा सकियो नगरौ उनको जिन्दगीको कुरो एकदमै दोधारमा परेँ’, उनले सेतोपाटीसँग गुनासो गरे। यस्ता बग्रेल्ती कहानी सिड्नीको बजारमा भेटिन्छन्। पैसाको लोभ र आफन्त भित्र्याउने लालचमा नक्कली बिवाह फस्टाएको छ। भर्खरै सिड्नीमा एक जना गुरूङ थरकी चेलीले नेपाली रैथाने मास्के थरको युवकसँग पीआरका लागि नक्कली बिवाह गरेपछि घरको न घाटको हुँदै नेपाल फिरेको चर्चा निकै चलेको थियो। स्थायीत्वको लोभमा नक्कली बिवाह गर्ने धेरैले आफ्नो घरजम गरेको थुप्रै बृतान्त पनि सुन्न पाइन्छ। तर, नेपालबाट नक्कली बिवाह गरेर डिपेन्डेडमा आउनेहरूको छुट्टीने परम्पराले हाम्रो समाजमा डिभोर्सको अनुपात बढेको देखिन्छ। ‘हामी कहाँ डिर्भोस गर्न धेरै आउँछन्। हामी प्रकृयामा लगिदिन्छौ तर, हेर्दा लाग्छ उनीहरू खुसीखुसी डिभोर्स गर्दैछन्,’ सिड्नीका कानुन ब्यवसायी खिलेन्द्र तिम्सिनाले सेतोपाटीसँग भने,‘विद्यार्थीहरूमा यो परम्परा केही बढी देखिएको छ।’ बिवाहको प्रकृति र क्लाइन्टको हाउभाउले यसको बास्तविकता थाहा पाइने तिम्सीनाले बताए। अस्ट्रेलियामा नक्कली मात्र होइन सक्कली डिभोर्सको संख्या पनि बढेको छ। दम्पतिहरूको सवालमा भने १२ महिना छुट्टिएपछि महिला र पुरूष दुबैले डिभोर्स माग्न सक्ने कानुनी प्रावधान छ। बास्तवमै सम्पति जोडेकाहरूका लागि भने डिभोर्स निकै मंहगो पर्छ। पुरूष प्रधानले गाँजेका हाम्रो परम्पराले पनि पत्नीलाई बराबरको दर्जा नदिदाँ महिला प्रधान देश अस्ट्रेलियामा आफ्नो हक र अधिकारको लागि महिलाहरू डिभोर्स तर्फ अग्रसर देखिएको तितो अनुभव संगालेका छन सिड्नीका वकिल तिम्सीनाले। सम्पतिको लोभको उक्साहट र सामाजिक सन्जाल पनि डिर्भोसको कारण बन्ने गरेका अनुभव सुनाउँछन्, कानुन ब्यवसायी तिम्सीना। ‘फेसबुक र भाइबर अनि अन्य सामाजिक सन्जालमा पक्राउ परेकै कारण झगडा सुरु भएको कयैन उदाहरण हामी कहाँ छन्,’ तिम्सीनाले सेतोपाटीलाई भने। कुल सम्पतिको पचासदेखि ६० प्रतिशतसम्म महिलाको भागमा पर्ने कानुनी प्रावधान छ। ‘ग्रानभिलमा एक जोडी विद्यार्थी नेपालबाट पढ्न आए। नयाँ जोडी पढ्न आएको भनेर मैले कोठा भाडामा दिएँ। तर सँगै आएका दुबै एक जना खाटमा र अर्को बैठकमा सुत्न थालेपछि अप्ठ्यारो लागेको छ,’ ब्याचलर सकेर बसेका नेपाली विद्यार्थी निसम क्षेत्रीले सेतोपाटीसँग भने। ‘यो परम्परा राम्रो भने होइन, यसले हाम्रो समाजलाई गलत कार्यतर्फ उक्साहट गराउन मद्दत मिल्छ’, मेलवर्नका नेपाली मुलका वकिल टोनु गोथाने भने, ‘राज्यले विद्यार्थीको हक र हितका लागि दिएको अधिकारको गलत प्रयोग रोकिनुपर्छ। यसले साच्चिकै बिवाह बन्धनमा बाधिएका असली जोडीहरुलाई नकारात्मक असर पर्न सक्छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.