सुन तस्करी : नेपालबाट लगेजमै बाहिरिन्थ्यो लाखौं डलर


काठमाडौं : सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा ठूलो परिमाणमा डलर लगेजमै विदेश लगिने गरेको र त्यस अतिरिक्त विदेशमा काम गर्ने नेपालीले हुन्डीमार्फत नेपाल पठाएको रकम थप संकलन गरी सुन खरिदमा प्रयोग गर्ने गरेको तथ्य फेलापारेको हो ।
करिब १५ करोड रुपैयाँ मूल्यबराबरको सुन किन्न चाहिने करिब १५ लाख डलर विदेशी बजारमा कसरी जाने गरेको थियो भन्नेबारे अनुसन्धानका क्रममा यो तथ्य फेलापरेको हो ।
‘१५ करोड नेपाली रुपैयाँको सुन किन्न करिब १५ लाख डलर चाहिन्छ जब कि विदेश जानेले एक हजार डलरभन्दा बढी पैसा बोक्न पाउँदैन । एलसी खोलेरै पैसा लिएर जाँदा पनि निकै ठूलो प्रश्न उठ्ने विषय भएकाले हामीले खरिद विषयमा अनुसन्धान बढाएका हौं’, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्, ‘कि हुन्डीमार्फत सुन किन्ने कुरा हुन्छ कि त यतैबाट पैसा लिएर जाने कुरा हुन्छ । अनुसन्धान गर्दा भरियाले यतैबाट लगेजमा पैसा लिएर जाने गरेको बताएका छन् ।’
तस्करले पहिलोपटक आफूले सुन ल्याएको बताए पनि यस विषयमा सीआईबीले अध्यागमन विभागसँग विस्तृत विवरण माग गरेको छ । ‘तस्करहरू नियमित रूपमा विदेश जानेआउने गरेको हुनसक्ने भएकाले हामीले अध्यागमन विभागसँग उनीहरूको विवरण माग गरेका छौं’, सीआईबी स्रोत भन्छ । सीआईबीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।
‘हामी खरिदप्रक्रिया अध्ययनको सुरुआती चरणमा छौं । यताबाट डलर लैजाने र उताबाट सुन ल्याउने विषयले अनुसन्धान थप बृहत् बन्न पुगेको छ’, अनुसन्धानमा खटिएका प्रहरीले भने ।
सीबीआई प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले अनुसन्धानमा तस्करीका सबै पाटो केलाउने क्रममा सुन खरिदको प्रक्रियाबारे पनि अध्ययन भइरहेको स्वीकार गरे ।
सीबीआई टोलीले अघिल्लो महिना (पुस २१ मा ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुनसहित तीनजनालाई पक्राउ गरेको थियो । उनीहरूको बयानका आधारमा सीबीआईले विमानस्थल भन्सार कार्यालयका अधिकृतलाई पनि पक्राउ गरिसकेको छ ।
भन्सार अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकालको बयानका आधारमा सीबीआईले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पनि पक्राउ गरेको छ । आइतबार पक्राउ परेका खत्रीलाई थुनामा राखी चार दिन अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार अनुमति दिएको थियो । एसएसपी खत्री सुन बरामद हुँदा विमानस्थलमा कार्यरत थिए । यो काण्डपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो ।
‘विमानस्थलमा सम्पूर्ण सेटिङ भएपछि लगेजमै लाखौं पैसा लैजानु अस्वाभाविक पनि भएन’, अनुसन्धानमा खटिएका प्रहरी भन्छन् । प्रहरी अनुसन्धानमा भन्सार अधिकृत यादव र एसएसपी खत्रीबीच लामो समयदेखि दुबईबाट आउने सुन कसरी बाहिर लैजाने भन्नेबारे दिनहुँजसो कुराकानी हुने गरेको पनि खुलेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.