बिहेको पाँच वर्षसम्म बच्चा नजन्मिएपछि शिशु चोरेको खुलासा

वीरगन्ज : जन्माएर दुध खुवाउन नपाउँदै चोरी भएका शिशु तीन दिनपछि काखमा राख्न पाउदा आमा आशा देवीको खुशीको सीमै रहेन । आइसियु कक्षमा राखिएको बच्चालाई काखमा लिएर स्तनपान गराउर्दै आशादेवी तीन दिनको पीडा बिर्सने प्रयास गर्दै थिइन्। छोरा जन्मिएको तीन दिनपछि मात्र आशा देवी खुशी हुन पाएकी हुन् । ‘म अस्पतालकै बेडमा थिएँ, श्रीमानले अचानक आएर बच्चा भेटियो, माथि आइसियुमा राखेको छ, हेर्ने हिँड भन्नुभयो, सुरुमा त मैले विश्वास नै गरिन,’ खुशी हुँदै भनिन्, ‘अरुले जे भने पनि मलाई चाहिँ मेरो बच्चा ढिलो चाँडो मैले पाउँछु भन्ने आशा थियो, म यति धेरै खुशी छु कि यो खुशी व्यक्त गर्ने शब्द नै छैन ।’
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट गत शुक्रबार जन्मिएको दुई घण्टा नबित्दै चोरी भएको आशा देवीको बच्चा (छोरो) तीन दिनपछि आइतबार प्रहरीले फेला पारेको हो ।
तीन दिनपछि भेटिएको शिशुसहित आशादेवी आइतबार नारायणी उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा । तस्बिरः क्रान्ति शाह
वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १ छपकैयाकी आशा देवीले अस्पतालमा शुक्रबार बिहान पौने ११ बजे जन्माएको शिशु अस्पतालको बेडबाटै त्यहि दिन दिउँसो साढे १ बजे चोरी भएको थियो । अपरिचित एक महिलाले अस्पतालको बेडबाट बच्चा चोेरेर फरार भएकी थिइन् ।
शुक्रबार अस्पतालबाट चोरी भएको बच्चा र बच्चा चोरी गर्ने महिलालाई प्रहरीले पर्साको बेल्वा गाविस ९ मिलनटोलबाट आइतबार दिउँसो पक्राउ गरेको हो । पर्साको भिस्वा गाविसमा पाच वर्ष पहिले बिहे भएकी २२ बर्षीया लालसा देवीलाई प्रहरीले चोरी भएको बच्चासहित मिलनचोकस्थित माइतीघरबाट आइतबार दिउँसो पक्राउ गरेको हो।
बिहे भएको पाँच वर्ष बितिसक्दा पनि बालबच्चा नभएपछि सन्तानको चाहना पूरा गर्न लालसा देवीले अस्पतालबाट बच्चा चोरेर लगेको प्रारिम्भक अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
भेटिएको बच्चालाई प्रहरीले उनकी आमा आशा देवी र बुबा मुकेश पासवानलाई जिम्मा लगाएपछि अहिले बच्चाको नारायणी उपक्षेत्रीय अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।
‘बच्चाको आखामा सामान्य इन्फेक्सन (संक्रमण) भएको छ , अहिले कमजोर पनि देखिएको छ’, डा. चित्तरन्जन साहले भने ,‘आइसीयुमा राखेपछि बच्चाको अवस्थामा धेरै सुधार आइसकेको छ ।’
बच्चा चोरी गर्ने महिला लालसा देवीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । अस्पतालको बेडबाटै बच्चा चोरी भएपछि बुबा मुकेश पासवान तीन दिनदेखि निक्कै पीडामा थिए। आइतबार प्रहरीले बच्चा खोजेर ल्याइदिएपछि उनी अहिले खुशी छन् ।
बच्चालाई राखिएको अस्पतालको आइसियु कक्ष अगाडि आइतबार भेटिएका मुकेशले भने ,‘यो तीन दिन मेरो लागि मृत्युु शैयामा बिताएको जस्तो पीडादायी थियो, मैले मेरो बच्चा पाउने आशा नै मारिसकेको थिएँ ।’
प्रहरीको अथक मेहनतले आफनो बच्चा भेटिएको भन्दै उनले प्रहरी आफ्ना लागि भगवान् सावित भएको बताए । ‘नेपाल पुलिसको ऋणी भएको छु, त्यसमा पनि डिएसपी चक्र जोशी त मेरो लागि भगवान नै सावित हुनुभयो ।’
प्रहरी स्रोतका अनुसार, अस्पतालबाट गत शुक्रबार बच्चा चोरेर लालसा देविले वीरगन्ज– १४ श्रीपुरमा आफनो सानीमाको छोराको डेरामा राखेकी थिइन् । शनिबार बच्चा लिएर मिलनचोक माइती घरमा पुगेकी थिइन् ।
आइतबार बिहान श्रीपुरका स्थानीयले सूचना दिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक गोविन्दकुमार साह र प्रहरी नायब उपरीक्षक जोशीसहितको प्रहरी टोलीले लालसा देवीकी सानीमाको छोरालाई पक्रेर सोधपुछ गरेपछि लालसाले बच्चा चोरी गरेको रहस्य खुलेको हो।
रहस्य सार्वजनिक हुँदै गएपछि निजी सवारी सधानमा प्रहरी उपरीक्षक साह प्रहरी टोली लिएर आफै मिलन चोकमा लालसा देवीको माइतीघरमा पुगे । प्रहरीले लालसा देवीको माइतीघरमा खानतलाशी गर्दा लालसा देवी बच्चासहित फेला परेको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।
‘माइतीघरमा लालसा देवी सुत्केरी भएकै महिलाको जस्तै हुलिया बनेर बसेकी थिइन्’, प्रहरी उपरीक्षक जोशीले भने,‘माइतीका आमा बुबालाई पनि बच्चा आफ्नै भएको विश्वास दिलाएकी रहिछन् ।’
बिहे भएको पाँच वर्षसम्म सन्तान नभएपछि बच्चाको चाहनाले उनले अस्पतालबाट बच्चा चोरेर लगेको प्रहरी उपरीक्षक जोशीले बताए । बच्चा चोर्नका लागि लालसाले एक महिनादेखि नारायणी उपक्षेत्रीय अस्पतालमा मौका कुरेर बसेको र शुक्रबार मौका पाउने बित्तिक्कै आशा देवीको शिशु चोरेर भागेको प्रहरी उपरीक्षक जोशीले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.