धम्क्याएर चन्दा माग्दै विप्लव माओवादी


गोरखा : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेको पाइएको छ । फागुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरूसँग चन्दा मागेको सचिवहरूको भनाइ छ ।
‘उद्दण्ड शैलीमा चन्दा मागेका छन्’, खोप्लाङका गाविस सचिव ऋषिराम पौडेलले भने, ‘१० हजार रुपैयाँभन्दा कम नौ हजार नौ सय ९९ रुपैयाँ दिए पनि हामी लिन्नौं । नदिए पछि हामीले जहाँ बोलाएका छौं, त्यही आएर दिनुपर्छसमेत भने ।’ तर आफूले गाउँ परिषद्मा निर्णय नगरी गाविसको पैसा खर्च गर्न नमिल्ने अडान लिएको उनको भनाइ छ ।
आफूसँग रामबहादुर लामिछाने भन्ने माओवादी कार्यकर्ताले धम्कीको भाषामा चन्दा मागेको धावा गाविसका सचिव हरीश ओखेडाले जानकारी दिए । ‘अत्यन्तै कडा र रुखो शैलीमा पार्टीको निर्णय हो भन्दै थिए’, उनले भने, ‘तर मैले व्यक्तिगत रूपमा दुई–चार सय रुपैयाँ हो भने दिन सकिन्छ । त्योभन्दा धेरै लिन गाविस मिटिङमा आउनू भनेँ ।’ शान्तिप्रक्रियामा आइसके पनि धम्क्याएर चन्दा माग्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।
जिल्लाका सबै सचिवसँग चन्दा माग गरिएको गाविस सचिव हकहित केन्द्रका अध्यक्ष गणेशभक्त त्रिपाठीले बताए ।
यता विप्लव माओवादीका गोरखा संयोजक योगन्द्र कुमालले भने आफूहरूले तोकेरै चन्दा माग नगरेको दाबी गरेका छन् । अधिवेशनका लागि चन्दा माग्ने निर्णय भए पनि धम्क्याएर चन्दा असुली नगरिने उनको भनाइ छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.