सपना देखेको छु, चमत्कार गर्न सक्छौँ : प्रचण्ड



काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक एकता भए आर्थिक क्षेत्रमा चमत्कार गर्न सकिने बताएका छन् । दोलखा जिल्लाको खिम्तीस्थित खिम्ती-ढल्केबर दुई सय २० प्रसारण लाइनको उद्घाटनपछि बोल्दै प्रधानमन्त्रीले भने, ‘मैले आर्थिक क्रान्तिको सपना देखेको छु, राजनीतिक एकता कायम गर्न सक्यौँ भने हामी आर्थिक क्षेत्रमा चमत्कार गर्न सक्छौँ ।’ प्रधानमन्त्रीले त्यसका लागि राजनीतिक दलमा नयाँ संकल्प आवश्यक भएको प्रष्ट पारे। लोडसेडिङ अन्त्य गर्नका निम्ति सरकार तयार रहेको बताउर्दै प्रचण्डले ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अभियानका लागि सदैव साथ दिने बताए । ‘लोडसेडिङ अन्त्य गर्न, विद्युत क्षेत्रका समस्या समाधान गर्न सरकार सधैं तयार छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म सधैं जनार्दनजी र कुलमानजीको साथमा छु । तपाईहरुलाई कहाँ अप्ठ्यारो पर्छ भन्नुस्, म सबै सहयोग गर्न तयार छु ।’ प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्रीले ‘नेपालकै पहिलो दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदा गर्वको अनुभूति भएको बताए । कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उज्यालो नेपाल अभियानले जनतामा उत्साह भरेको बताए । ‘प्रधानमन्त्रीको निर्देशनमा उज्यालो नेपाल अभियान चलाइएको छ । यसको विकास र समृद्धिमा दुरगामी महत्व छ,’ शर्माले भने, ‘उज्यालो नेपाल अभियान जनतामा उत्साह भर्ने अभियान हो ।’ अहिलेसम्म एक सय ३२ केभी प्रसारण लाइन मात्रै सञ्चालन हुँदै आएकोमा नेपालमा पहिलोपटक दुई सय २० केभीको प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उद्घाटन कार्यक्रममा घिसिङले २०६२ मा प्रारम्भ भएको आयोजना ११ वर्षपछि सम्पन्न भएको, आयोजना सम्पन्न गर्न एक अरब ९५ करोड लगानी भएको बताए । घिसिङले खिम्ती—ढल्केबर प्रसारण लाइनको सञ्चालनपछि काठमाडौं र पोखराको विद्युतमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.