नेपाल-चीन सैन्य अभ्यासको तयारी : चिनियाँ सेना नेपालमा

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँगको भेटपछि तस्बिर खिचाउदै मेजर जनरल चाओ जिनसोङ्को नेतृत्वमा नेपाल आएको १५ सदस्यीय चिनियाँ सैन्य टोली । तस्बिर : नेपाली सेना 

काठमाडौं : चिनियाँ जनमुक्ति सेनाको एक उच्च सैन्य टोली दुई दिने भ्रमणमा आइतबार काठमाडौं आएको छ ।
चिनियाँ जनसेनाको पश्चिम कमाण्ड हेर्ने मेजर जनरल चाओ जिनसोङ्को नेतृत्वमा १५ सदस्यीय सैन्य टोली आएको हो । नेपाल र चीनबीच संयुक्त सैन्य तालिमको तयारी भइरहेका बेला चिनियाँ टोली नेपाल भ्रमणमा आएको हो ।
यद्यपी नेपाल र चीनले हालसम्म संयुक्त सैन्य तालिम हुने मिति, स्थानबारे घोषणा गरेका छैनन्। नेपालले भारत र अमेरिकासँग सैनिक अभ्यास गर्दै आएपनि चीनसँग भने पहिलोपटक यस्तो अभ्यासको तयारी भएको हो ।
चीनसँग हुने सैन्य तालिम सानो खालको हुने र विपद् व्यवस्थापनाका बिषयमा अनुभव साटासाट गरिने सेनाले जनाएको छ । उक्त संयुक्त तालिमको मोडालिटीबारे नेपाल र चीनबीच छलफल भइरहेको बताइएको छ ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर प्रवक्ता कार्कीले नेपाल चीन संयुक्त तालिमको मिति तय भइ नसकेको बताए । ‘यही फागुनको ते श्रो साता चीनसंग एक चरणको बैठक आयोजना हुनेछ । त्यसपछि संयुक्त तालिमको मिति तय हुनेछ’ प्रवक्ता कार्कीले भने ‘अहिले गृहकार्यकै चरणमा छौँ ।’
चिनियाँ सैन्य टोलीले आइतबारै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । प्रवक्ता कार्कीले भेटमा नेपाल र चीनबीचको सैन्य सम्बन्धको विस्तारबारे कुराकानी भएको बताए ।
‘दक्षिण एसिया क्षेत्रको भ्रमणमा उहाँहरु आउनु भएको हो । यो सद्भावना भ्रमण मात्र हो’ उनले भने । सो अवसरमा दुई सेनाबीचको संबन्ध र सहकार्यबारे कुराकानी भएको सेनाले जनाएको छ।
भ्रमणबाट सैनिक सम्बन्ध सुदृढ र विस्तार गर्न मद्दत पूग्ने विश्वास सेनाले लिएको छ । नेपाल भ्रमण सकेर चिनियाँ सैन्य टोली मंगलबार भारत जानेछ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.