कमाउन गएका पति बाकसमा फर्केपछि..

कतारमा रगत क्यान्सर भई मृत्यु भएका घर्तीगाउँ ७ रोल्पाका हरिप्रसाद विककी पत्नी वुद्धमालालाई रोल्पा जलजला सेवा समाजले संकलन गरेको ५० हजार नगद सहयोग हस्तान्तरण गर्दै समाजका संस्थापक अध्यक्ष शिवप्रसाद केसी र पूर्वअध्यक्ष कैलाश घर्तीमगर । 

लिबाङः गरिबीले कमाउन विदेशिएका पतिको रगत क्यान्सरबाट विदेशमै मृत्यु भएको खबर कति पीडादायी हुन्छ ? कल्पना पनि गर्न सकिदैन । यस्तै कल्पना पनि नगरिएको मृत्यु सुन्नु पर्‍यो घर्तीगाउँ ७ रोल्पाकी वुद्धमाला विकले ।
बुद्धमालालाई ‘रगत क्यान्सरको उपचार गरी बाँचेर स्वदेश फर्कन्छु’ भनेका ३० वर्षीय पति हरिप्रसाद बिक जन्मभूमि फिर्नै पाएनन्, कतारमै उनको मृत्यु भयो । वुद्धमालाको गाउँमा बासका लागि सानो एकतले झुपडी छ । खेतीपातीका लागि थोरै बारी । सामान्य साक्षर हरिप्रसादले गरिबीले र ऋणले थलिएको परिवारको दुःख देख्न चाहेनन्। साहुको चार लाख ऋण तिर्न, परिवारको लालनपोषण र छोराछोरीलाई राम्ररी पढाउन चाहिने पैसा कमाउन विदेशिएका थिए उनी । तर, दुर्भाग्य उनको कात्तिक २० गते कतारमा रगत क्यान्सरका कारण मृत्यु भयो ।
पतिको विदेशमै मृत्यु भएपछि थलिएकी वुद्धमाला अभैm तंग्रिन सकेकी छैनन् । नौ वर्षको छोरा रेशम र आठ वर्षीया छोरी नौमतीले राम्ररी पढ्न पाएका छैनन् । रेशम कक्षा तीन र नौमती कक्षा एक मा अध्ययरत छन । शोकमा डुबेका परिवारको दैनिकी अभैm सहज बन्न सकेको छैन ।
‘कतार गएको १८ महिना भएको थियो । एक दिन साँझ ‘बिरामी छु, हस्पिटलमा उपचार गराउँदैछु । रगत क्यान्सर भएको रैछ’ भनेर फोन गर्नुभयो’, वुद्धमाला आँसु छचल्काउँदै दुःखद क्षण सम्झिन्छिन्, ‘नआत्तिनू, सञ्चो भएर आउँछु भन्नुहुन्थ्यो, तर, शव बनेर आउनुभयो ।’
रगत क्यान्सर भएको सुनेपछि अर्धबेहोस भैं भएकी वुद्धमालाले पतिको हालखबर सोध्न दैनिक फोन प्रयास गरिन् । तर, सम्पर्क हुन सकेन । ‘सञ्चो भएर फर्कन्छु’ भनेको साँझदेखि पतिको फोन ‘स्विचअफ’ भएको वुद्धमाला सम्झिन्छिन् ।
बिरानो कतारमा पतिबाहेक सम्पर्कका लागि वुद्धमालासँग कसैको फोन नम्बर थिएन । दुर्गम गाउँमा छटपटिनुबाहेक केही विकल्प रहेन । हस्पिटल भर्ना भएको एक हप्तापछि कतारबाट कसैले उनको पतिको मृत्यु भएको सुनाएपछि वुद्धमाला बेहोस बनिन् ।
कमाउन कतार पुगेका पतिको मृत्युको खबरले छाँगाबाट खसेभै भइन् उनी । पतिको मृत्यु भएको ११ दिनपछि बाकसमा शव घर आइपुग्यो । उनको परिवार सम्हालिन सकेन । पतिको मृत्यु, साहुको ऋण र छोराछोरीको भविष्यको चिन्ताले ग्रसित वुद्धमालाले पतिको अन्तिम काजकिरिया गरिन् ।
पतिको बिमा र तलबबापतको रकम उनको परिवारले पाएपछि मुस्किलले चार लाख ऋण तिर्न सकेको वुद्धमाला बताउँछिन् । ‘एकतले झुपडी छ, छोराछोरी कसरी पढाउने हो ?’ आँखाभरि आँसु टल्पलाएकी वुद्धमालाले भनिन्, ‘मैले पढेलेखेकी छैन । कसैले बाख्रापालन गर्न सहयोग गरे जीविका चलाउन सजिलो हुन्थ्यो ।’
हरिप्रसाद दुई वर्ष साउदी अरबमा समेत काम गरेर फर्किएका थिए । साउदीमा बिरामी परेपछि उनी घर फर्केका थिए । परिवारका अनुसार नेपाल आएर उपचार गर्दा क्षयरोग (टिबी) पत्ता लागेको थियो । टिबीको औषधि खाएर सञ्चो भएपछि उनी कतार पुगेका थिए । घरबाट स्वस्थ भएर कतार पुगेका उनको रगत क्यान्सरबाट मृत्यु भयो । परिवार विचल्लीमा परेको थाहा पाएर रोल्पा जलजला सेवा समाजले सहयोग संकलन थाल्यो । उनीसँगै एउटै कम्पनीमा काम गर्ने नेपालीले पनि सहयोग पठाएका छन् ।
अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उद्देश्यले रोल्पा घर भई कतारमा पुगेका युवाले कतारमै गठन गरेको रोेल्पा जलजला सेवा समाजले ५० हजार रुपैयाँ सहयोग वुद्धमाला परिवारलाई उपलब्ध गराएको छ । समाजले लिबाङमा पत्रकार सम्मेलन गरी सहयोग रकम हस्तान्तरण गर्‍यो । समाजका संस्थापक अध्यक्ष शिवप्रसाद केसीले नगद सहयोग हस्तान्तरण गरे ।
समाजका पूर्वअध्यक्ष कैलाश घर्तीमगरका अनुसार कतारमा अलपत्र परेका थुप्रै रोल्पालीलाई समाजले आर्थिक सहयोग गर्दै आएको छ । समाजसेवी कैलाश भन्छन्, ‘रगत क्यान्सरले हरिप्रसादको मृत्यु भएपछि छोराछोरीको शिक्षामा सघाउ पुगोस् भनेर सहयोग गरिएको हो ।’

मनकारीको सहयोगले आफूलाई राहत महसुस भएको वुद्धमाला बताउँछिन् । वुद्धमालाले झिनो अपेक्षा फेरि दोहोर्‍याइन्, ‘कसैले बाख्रा सहयोग गरे बाख्रापालन गर्नुहुन्थ्यो । बाख्रा पालेरै भए पनि छोराछोरी पढाउँथें ।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.