सिकिस्त श्रीमती बचाइदिएको भन्दै डाक्टरलाई माछा कोसेली

डा‍. रोशन खत्री

स्वास्थ्य क्षेत्रमा भएको विकाससँगै पछिल्ला दिनमा विशेषज्ञ सेवा विस्तारै ग्रामीण भेगका अस्पतालमा विस्तार हुँदै गइरहेका छन्। चिकित्सकको उपस्थिति बढ्दै गएपछि ग्रामीण भेगका अस्पतालमा पनि विभिन्न शल्यक्रिया हुन थालिसकेका छन्। विशेषगरी ग्रामीण भेगमा चिकित्सकको उपस्थितिले जटिल अवस्थामा पुगेका धेरै गर्भवती तथा सुत्केरीहरुको ज्यान जोगाएको छ। केही दिनअघि मात्र दोलखाको जिरीस्थित जिल्ला अस्पतालमा जटिल अवस्थामा रहेकी एक महिलाको सफल शल्यक्रिया भएको छ। जिरी अस्पतालमा भएको उक्त शल्यक्रियाका विषयमा स्वास्थ्यखबरकर्मी प्रवीण ढकालसँग उपचारमा संलग्न अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन खत्रीले आफ्नो अनुभव यसरी सुनाएः
अस्पतालमा काम गरिरहेको समयमा एक जना महिलालाई उपचारका लागि ल्याइयो। २४ वर्षकी ती महिला अत्याधिक रक्तस्राबका कारण अचेत थिइन्। अवस्था अत्यन्तै नाजुक थियो। उनको पाठेघरमा बच्चा नबसेर डिम्ब नलीमा बसेका कारण रक्तस्राब भएको थियो।
रक्तस्राबको समस्यालाई ती महिलाले दुई हप्तासम्म लुकाएर राखेकी रहेछिन्। अन्त्यमा गम्भीर भएपछि मात्र अस्पताल ल्याइएको थियो। उनको शरीरमा हेमोग्लोविनको मात्रा जम्मा ३ थियो। जबकि शरीरमा हेमोग्लोविनको मात्रा ७ बाट तल झरेपछि गम्भीर मानिन्छ। त्यस्ता बेला तुरुन्तै रगत चढाएर आवश्यक उपचार गर्नुपर्ने हुन्छ।
उनको उपचार भनेको नै शल्यक्रिया थियो। तर, हामीसँग ब्लड बैंक थिएन। त्यस्तो जटिल अवस्थामा रहेकाहरुको उपचार गर्न पर्याप्त स्रोत साधन पनि थिएन। तुरुन्तै उपचार नगरे जतिबेला पनि तलमाथि हुने खतरा थियो। काठमाडौँ पठाउँदा बीच बाटोमै ज्यान जान सक्ने डर थियो। त्यसपछि हामी सबैले सल्लाह गर्यौँ।
बाहिर पठाउँदा ज्यान जाने निश्चित भएपछि अस्पतालमै उपचार गर्ने निधो भयो। उनको परिवारले पनि अस्पतालमा उपचार हुँदा बाँच्ने सम्भावना छ भने तुरुन्तै गरौँ भन्ने सहमति दिए। हामी उनको उपचारमा खट्यौँ।
उनलाई रगत चढाउनुपर्ने थियो। अस्पतालकै कर्मचारीले रगत दान गरे। मसँगै अन्य साथीहरुको टिम उपचारमा सक्रिय भयो। गम्भीर अवस्थामा पुगेकी ती महिलाको ज्यान बचाउन हामी सफल भयौँ। हाम्रो टोलीले सफलताको सास फेर्यो भने उनका परिवारले खुसी र सन्तोषको।
श्रीमतीको जटिल अवस्था देखेका उनका श्रीमानले त आसै मारिसकेका रहेछन्। शल्यक्रिया सफल भएको सुनेपछि उनका आँखाबाट आँशु झरे। उनको परिवार माछा मारेर परिवार चलाउँदै आएको रहेछ। श्रीमती बचाइदिएको भन्दै उनले हामीसँग खुसी व्यक्त गरे। पछि त उनले माछा ल्याएर दिए।
श्रीमती बचाएकोमा धन्यवाद दिन उनले माछा ल्याइदिएका रहेछन्। भने, ‘म गरिबले दिनसक्ने यति नै हो। मेरो श्रीमती बचाउने डाक्टरहरुका लागि मैले प्रेमले ल्याइदिएको कोसेली हो यो।’ हामी नाजवाफ भयौँ र उनको कोसेली माछा स्वीकार्यौँ।
हुनत हामीले हाम्रो कर्तव्य पूरा गरेका थियौँ। तर, अन्तिम अवस्थाका बिरामी बाँचेर फर्किंदा बिरामी र उनका आफन्तले डाक्टरहरुलाई कति आत्मीय सम्झन्छन् भन्ने यो एउटा उदाहरण हो।
हाम्रो प्रयासले जटिल अवस्थाका बिरामी बचाएको खुसी त छँदै थियौँ। परिवारका तर्फबाट हामीप्रति व्यक्त भएको माया र विश्वासले थप काम गर्ने ऊर्जा दिँदो रहेछ। आमनागरिकको स्वास्थ्य संस्थाप्रतिको उक्त विश्वासलाई थप मजबुत बनाउन हमी लागिरहनेछौँ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.