नेपालमा राजसंस्थाको पक्षमा अमेरिका, भारत र चीनको समेत सकारात्मक संकेत


माघ २७, काठमाण्डौ । गणतन्त्र स्थापना भएको एक दशकपछि फेरि राजसंस्था फर्काउने विषयमा नेपालीहरु बीच नयाँ बहस सुरु भएको छ । नेपालका अतिरिक्त प्रवासमा बस्ने नेपालीहरुले समेत यो विषयलाई निकै चासोका साथ उठाउन थालेका हुन् । राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थाका विषयमा कुरा उठाउनु कुनै नौलो कुरा होइन तर पछिल्लो समयमा बौद्धिक तह र तप्काबाटै राजसंस्थाको आवश्यकताका नयाँ बहस सुरु हुन थालेको छ । राजसंस्था फर्केला नफर्केला त्यो छुट्टै बहसको विषय हो तर नेपालको बौद्धिक जमातलेनै चासो व्यक्त गर्नुचाहि निकै अर्थपूर्ण कुरा हो । पछिल्ला खबरअनुसार विश्वको महाशक्ति राष्ट्र अमेरिकामा बस्ने नेपालीहरुले राजसंस्थाका बारेमा जनमत संग्रहमार्फत फैसला गर्नुपर्ने विचार व्यक्त गर्न थालेका छन् । अमेरिकाको डेमोक्रेटिक पार्टीमार्फत राजनीति गरिरहेका नेपाली नागरिक दर्शन रौनियारदेखि अन्य बौद्धिक व्यक्तित्वहरुले समेत राजसंस्थाको पक्षमा वकालत गर्न थालेका छन् । अमेरिका बस्ने नेपालीहरुले राजसंस्थाको पक्षमा वकालत मात्रै गर्न थालेका छैनन्, आफ्ना फेसबुक अकाउन्टमा राजतन्त्रको पक्षमा खुल्ला बहस चर्काउन थालेका छन् । राजतन्त्रको विषयमा बहस हुँदाहुँदै नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नेपालमा राजसंस्थाको आवश्यकताको संकेत गर्दै पूर्वराजा ज्ञानेन्द्रसँगै खिचिएको तस्वीर आफ्नो ट्वीट अकाउन्टमार्फत सार्वजनिक गरेका छन् । सो तस्वीरलाई नेपालीहरुले निकै महत्व दिएर आफ्ना फेसबुक र ट्वीटर अकाउन्टमा प्रोफाइल पिक्चर र कभर फोटो समेत बनाई हंगामा मच्चाएका छन् । नेपालका अनलाइन मिडियाहरुले समेत राष्ट्रपति ट्रम्पले पूर्वराजा ज्ञानेन्द्रसँग खिचिएको फोटो सार्वजनिक गरेपछि प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन् । राजसंस्थासँग सम्बन्धित वकालत गर्ने बौद्धिक वर्गहरु, राजसंस्थाका पक्षमा देखिदै आएका कमल थापा, केशरबहादुर विष्ट, लोकेन्द्रबहादुर चन्द लगायतसँग जोडिएर आएका समाचारहरुलाई मुख्य मिडियाहरुले समेत प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नु राजसंस्थाका लागि समेत शुभ संकेत भएको एकथरी विश्लेषकहरुको दाबी छ । पछिल्लो समयमा चिया पसलदेखि राजनीतिक उच्च तहका व्यक्तिहरुले समेत राजसंस्था हटाएर गल्ती गरेको महसुस गर्न थालेका छन् । गणतन्त्र ल्याउन प्रमुख भूमिका खेल्ने पूर्वमाओवादी उपाध्यक्ष समेत भइसकेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बेला बेलामा सांस्कृतिक राजा राख्न सकिने विचार एक टेलिभिजनको अन्तरवार्तामा सार्वजनिक गरेका थिए । त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाललाई समेत राजसंस्था हटेकोमा आत्मग्लानी हुने गरेको श्रोतको दाबी छ । उता, भारतीय जनता पार्टीबाट प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले भने नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा समेत भित्री रुपमा बहस चलाउने गरेका समाचारहरु यसअघिनै आएका थिए । यसबाट के प्रस्ट हुन्छ भने नेपालमा अन्तर्राष्ट्रिय शक्तिहरुले संघीयताको नामांकन, सीमांकन जस्ता विषयलाई विवादित बनाउन सहयोग गरेर राजसंस्था फर्काउने अन्तिम तयारी गरिरहेका छन् । चीनले समेत राजसंस्थालाई निकै पहिलेदेखि चिनेको हुनाले यो अभियानमा सहयोग गर्न सक्ने अनुमान लगाउन सकिन्छ । अमेरिका, भारत र चीनले राजसंस्थाको पक्षमा सकारात्मक संकेत दिएपछि र नेपाली समुदायका बौद्धिक वर्गले गम्भीर चासो व्यक्त गर्न थालेपछि प्रमुख राजनीतिक दलका शीर्ष नेतारुलाई राजनीतिक दबाब पर्न थालेको बताइन्छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.