प्रचण्डको एक निर्देशनले काम बन्यो !

२७ माघ, काठमाडौँ।
लामो समयदेखि विवाद र समस्यामा फसेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको छ ।

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले स्थलगत निरीक्षण गरी आयोजनाको काम तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गति लिएको हो ।
आयोजना सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका तय गरिएको छ । आयोजनाले भने तोकिएको समयभन्दा दुई महिना पहिल्यै निर्माण सम्पन्न गर्ने गरी तयारी गरेको छ ।
सातपटक भेरियसन गरिएको आयोजनाको सम्बन्धमा राष्ट्रिय रुपमा चर्चा परिचर्चामात्रै नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को सार्वजनिक लेखा समितिमा समेत लामो छलफल भयो । छलफलका क्रममा आयोजनाको सम्बन्धमा भए गरेका गलत कामको उचित छानबिन गर्ने, दोषीउपर कारबाही गर्ने सहमति भएपछि निर्माण प्रक्रियाले गति लिएको हो ।
आयोजनाका प्रमुख अजयकुमार दाहालका अनुसार खुम्चिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न अन्तिम चरणमा पुगेको छ । कुल २८ मिटर सुरुङमात्रै पुनःनिर्माण गर्न बाँकी छ । २३२ मिटर सुरुङ खुम्चिएकामा अरु पुनःनिर्माण भइसकेको छ ।
हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको कामसमेत जारी छ । विद्युत् उत्पादन गर्ने टर्वाइनको यसअघि नै जडान गरिएको र हाल जेनेरेटर जडान कार्य जारी रहेको र आगामी एक महिनाभित्र सो कार्यसमेत सम्पन्न हुने आयोजनास्थलमा रहेका उपप्रबन्धक पुष्पराज जोशीले राससलाई जानकारी दिए ।
उनका अनुसार आयोजनामा हाल चिनियाँ र नेपाली कामदारले दैनिक १८ घन्टा काम गरिरहेका छन् । ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्ने तयारी गरेको हो । खुम्चिएको बाँकी रहेको सुरुङ सम्पन्न यसै महिनाभित्र हुने गरी तयारी गरिएको आयोजना प्रमुख दाहालले बताए ।
समयमै काम सम्पन्न नहुँदा आयोजनाले हालसम्म रु दुई अर्ब बढी कमाइ घाटा भएको छ । आयोजनाको लागतसमेत बढेर हाल प्रतिमेगावाट लागत रु ५६ करोड ३५ लाखभन्दा बढी पुगेको छ । ठेकेदारलाई बुझाइएको अन्य शुल्कको हिसाब गर्ने हो भने पनि प्राधिकरणले बुझाएको रकम उल्लेख्य मात्रामा बढी छ । जसरी भए पनि शीघ्र आयोजना सम्पन्न गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणले देखाएको चासोका कारण परियोजनाले गति लिएको छ ।
आयोजनाले यसअघि नै १३१ किलोमिटर लामो १३२ कभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । कुल ४१२ वटा टावरमार्फत कैलालीको अत्तरियामा जोडिएको छ । प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भए पनि हावाहुरीका कारण डोटी र कैलालीमा चारवटा टावर र केही प्रसारण लाइनमा क्षति पुगेको छ ।
प्रसारण लाइनको सीमाभन्दा बाहिर रहेका सल्लाको रुख ढलेर प्रसारण लाइनमा क्षति पुर्याएपछि वन विभागसँग समन्वय गरेर रुख काट्ने स्वीकृति लिने कार्य जारी रहेको आयोजना प्रमुख दाहाल बताउँछन् । दशवटा रुख काट्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्ने भएकाले केही दिन लाग्न देखिएको छ । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.