पूनर्लेखन नभए संविधान नै खारेज गर्ने उपेन्द्र यादवको चेतावनी

२८ माघ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनलाई प्रमुख तीन दलले बेवास्ता गरेको भन्दै पुनर्लेखन नभए संविधान नै खारेज गर्ने कडा चेतावनी दिएका छन् ।
मधेशी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायले अस्वीकार गरिसकेको संविधानलाई पुनर्लेखन नगरिए आन्दोलनको बलमा खारेज गर्ने चेतावनी दिएका हुन् ।
संघीय समाजवादी फोरम नेपाल, पर्सा जिल्लाको प्रथम एकता अधिवेशनलाई शुक्रबार वीरगञ्जमा उद्घादन गर्दै यादवले भने,– ‘विश्व समुदायले समेत संविधान त्रुटिपूर्ण छ भनिसक्दा पनि तीन दलको चेत खुलेन । हामीले त झन् संविधान नै जलाइसकेका छौं । अब पनि संशोधनमा आलटाल भए संविधान नै खारेज गर्ने भीषण आन्दोलन थाल्छौं ।’
प्रमुख तीन दलले एकअर्कालाई दोषि देखाएर संशोधनलाई थाती राखेर चुनावमा जाने षड्यन्त्रमा रहेको आरोप लगाउँदै यादवले संशोधन नभएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गरे । ‘हामी पनि चुनाव चाहन्छौं तर संशोधन पनि मात्रै चुनाव मान्य हुन्छ’– उनले भने ।
संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले एकल जातीय र नश्लवादी सोँचको नेतृत्व गर्ने प्रमुख तीन दलमा विभेदकारी रवैया रहँदासम्म मुलुकले गति लिनै नसक्ने दाबी गरे ।
संशोधन विधेयकले मधेशी, आदिवासी जनजाति, थारु, दलित लगायत उत्पीडित समुदायको माग नसमेटेकोले परिमार्जन बिना संशोधन पारित हुनु वा नहुनुको कुनै औचित्य नभएको यादवले टिप्पणी गरे ।
‘हामीले संशोधनको कुरा उठाए पनि अन्तिम विकल्प संविधान पुनर्लेखन नै हो’– संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले भने,– ‘संविधानका त्रुटि कमिकमजोरी सच्याउन सामान्य संशोधनले पार लाग्दैन । आवश्यक परे संविधान नै खारेज गरि नयाँ संविधान लेखिनु पर्छ ।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.