पूर्व राजा रानी सिमरामा, ‘राजा आउ, देश बचाउ’को नारा घन्कियो

५ फागुन, सिमरा।
पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह बिहीबार बाराको सिमरामा आइ पुगेका छन् । पूर्व रानी कोमल शाहको ६७ औं शुभ जन्मोत्सव मनाउनका लागि र शुभचिन्तकहरुसँग भेटघाट गर्न पूर्व राजा रानी बाराको सिमरा आइपुगेका हुन् ।

फाइल तस्बिर

सिमरा आइपुगेका पूर्व राजा रानीलाई स्वागत गर्न बारा, पर्साका राजावादी संघ संस्थाहरुका उल्लेख्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
उनीहरुले सिमरा विमान स्थलमा हातमा फुल लिई लामबद्ध लागि पूर्व राजारानीलाई स्वागत गरेका थिए । स्वागतको क्रममा समर्थक तथा शुभचिन्तकहरुले ‘राजा आउ, देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाउँदै राजालाई स्वागत गरेका थिए ।
राजालाई स्वागत गर्न बारा, पर्सा स्थितका राजावादी संघ संस्थाहरुले र्याली सहित नै सिमरा स्थित विमानस्थलमा पुगेका थिए । राजाको सुरक्षाको लागि भने विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
बारा स्थित सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश कनुवार, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कुमार कार्कीको टोली विमान स्थलमा सुरक्षार्थ खटेका थिए ।
बिहीबार सिमरा स्थित प्रभू निवासमा बसी शुक्रबार चितवन जिल्लाको सौराहा जाने कार्यक्रम रहेको राष्ट्रिय सरोकार मञ्च नारायणी अञ्चल संयोजक नन्दकिशोर गोयलले बताए । उनका अनुसार चितवनको सौराहा स्थित फागुन ७ गते पूर्व रानी कोमल शाहको शुभ जन्मोत्सव मनाई ८, ९ र १० गते हेटौडामा हुने कार्यक्रममा सहभागी भई १० गते बेलुकी पुनः सिमरामै फर्किने कार्यक्रम रहेको बताए ।
एक हप्ताको भ्रमणमा आएका पूर्व राजा रानी ११ र १२ गते बारा, पर्सा शुभचिन्तक समर्थकहरुसँग भेटघाट गर्ने भएको अञ्चल संयोजक गोयलले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.