बल्ल मल्हमपट्टी लाग्यो श्रीकृष्णसँग वियोगिएको मनमा.....


पर्दामा अहिले ‘मस्ट वेटिङ एक्ट्रेस'का रूपमा रहेकी श्वेता खड्काले दर्शकको त्यो चाहनालाई पूरा गर्ने ‘ग्रिन सिग्नल' दिइसकेकी छन् । सन् २०१० मा बनेको सुपरहिट चलचित्र ‘कहाँ भेटिएला'बाट रजतपट टेकेकी उनले ‘हाँसिदेऊ एक फेर', ‘ श्रीमान् श्रीमती' हुँदै पछिल्लो चलचित्र ‘कोहीनुर'मा अभिनय गरिन् ।
यो चलचित्र राम्रो व्यवसायको एउटा मानक बन्न सफल भयो । सो चलचित्रसँगै पति वियोगको सामना गर्नु परेपछि उनको जीवन निराशातिर धकेलियो । धेरै दिन, धेरै रात उनले आँसुसँग साटिन् । यही चोटसँगै उनका सारा सपना पनि तहसनहस भए । तर परिवार, समाज र चलचित्र उद्योगबाट उनले यति धेरै सान्त्वना पाइन् कि उनको छियाछिया भएको मनमा विस्तारै मल्हमपट्टी लाग्न थाल्यो । उनले आफूलाई समाल्ने प्रयास गर्न थालिन् ।
दुई वर्ष ६ महिनासम्म आइपुग्दा बल्ल उनका ओठहरू मुस्कुराउन थालेका छन् । उनलाई लाग्थ्यो, ‘जीवनमा अब हाँसोका दिन सकिए ।' परिवार, समाजसँगै संसारको माया एकातिर पति श्रीकृष्ण श्रेष्ठको माया अर्कोतिर राख्दा श्रीकृष्णको माया सयौं गुणा बढी हुन्थ्यो । त्यही माया दैवले छिनिदिए पछि उनको ओठबाट मुस्कान हराएको थियो । धमिलो खोला पनि बगिरह्यो भने सङ्लो हुन्छ भनेझैं उनको मनका पीडाहरूमा पनि विस्तारै खाटा बस्न थालेका छन् । सार्वजनिक कार्यक्रममा उनी अलि बढी देखिन थालेकी छन् । ‘जीवन छ र अब केही गर्नुपर्छ भनेर म यहाँसम्म आइपुग्न सकेकी हुँ', श्वेताले भनिन् ।
अझ पति श्रीकृष्णले जीवनको अन्तिम घडीमा ‘मलाई केही भइहाले पनि तिमी सधैं खुसी भएर हिम्मतका साथ अगाडि बढ्नु । मेरो आत्माले तिमीलाई हेरिरहेको हुन्छ । तिम्रो हरेक दुःखमा म तिम्रो साथ हुनेछु' भनेको उनले बिर्सेकी छैनन् । हालै उनले पति श्रीकृष्ण जन्मिएको सिन्धुपाल्चोकको ठूलो सिरुबारीस्थित झ्याँडी गाउँ पुगेर भूकम्पबाट प्रभावित बस्ती निर्माणमा सघाउने प्रतिबद्धता जनाइन् । त्यहाँको माझी बस्तीका बासिन्दालाई उनले आफ्नो पतिको समाजसेवाको सपना आफूले पूरा गर्ने पनि वाचा गरेकी छन् ।
श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको जोडीलाई पर्दामा मात्रै होइन वास्तविक जीवनमा पनि हजारौं प्रशंसकले रुचाएका थिए । रिल र रियालिटीका हिट जोडी लामो समय रहन सकेन । जीवनमा कल्पनै नगरेको घटना घटेपछि नयाँदिल्लीस्थित अस्पतालबाट काठमाडौंसम्म कसले कसरी ल्यायो भन्ने होस उनलाई थिएन । त्यसपछिका पीडादायी दिन स्मरण गर्दै श्वेताले भनिन्, ‘म पनि एक हिसाबले मरिसकेको थिएँ ।' त्यसबेला खाना खान, नुहाउनसमेत नसक्ने अवस्थामा उनी पुगेकी थिइन् । तर परिवारको साथ र धेरै परामर्शदाताहरूले दिएको सल्लाहसुझावले उनमा साहस पलायो । अहिले उनी होम प्रोडक्सनमार्फन नयाँ चलचित्र निर्माणको घोषणा गर्ने तयारीमा छिन् । ‘आवश्यक तयारी पूरा भएपछि पत्रकार सम्मेलन गरी नयाँ चलचित्रको नाम घोषणा गर्नेछु', उनले भनिन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.