प्रचण्ड, शेरबहादुर र केपी ओली मिलेको भन्दै मधेसी मोर्चाको यस्तो तयारी


काठमाण्डु, ५ फागुन– सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकै दिन संघीय लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन घोषणा गर्ने भएको छ । सरकार आगामी जेठ दोश्रो वा तेस्रो साता निर्वाचन मिति घोषणाको तयारीमा रहेका बेला मोर्चाले आन्दोलनको तयारी गरेको हो । राजधानीको बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बिहीबार बसेको मोर्चा नेताहरुको अनौपचारिक छलफलमा आन्दोलनबारे कुराकानी भएको थियो । तमलोपा सह–अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह पुनर्संरचनाको कामै टुंगोमा नलागी निर्वाचन घोषणा गर्नु मुर्खता भएको टिप्पणी गरे । उनले संविधान संशोधनअघि निर्वाचनको कुनै सम्भावना नरहेको बताए । उनले पहिला के को निर्वाचन गर्ने भन्नमै अन्योलता रहेका बेला निर्वाचनको कुरा गरेर जनता ढाँट्ने काम नगर्न प्रमुख तीन दललाई आग्रह गरे । प्रचण्ड, शेरबहादुर देउवा र केपी ओली मिल्दैमा मधेस समस्या समाधान नहुने र मुलुकले निकास नपाउने बताए । ‘मधेसलाई इन्कार गरेर देशलाई खुब राम्रो बनाउँला भन्ने नसोचे हुन्छ’, तीनै नेताको नाम लिएर उनले काठमाण्डु टुडेसँग भने, ‘मधेसलाई उपनिवेश बनाएर शासन गर्ने मानसिकता अब त्यागेकै राम्रो ।’ उनले तीन दल निकास दिन भन्दा सत्ता साभलेदारीको लेनदेनका लागि नजिकिएको आरोप लगाए । ‘प्रमुख दलको प्राथमिकतामा सत्ताबाहेक मुलुक कहिल्यै परेन । संविधान जारी गर्नुअघि तीन दल मिलेका थिए । सुशील कोइरालाको भागमा परेको राष्ट्रपति विद्यालाई खुवाइयो । अहिले पनि पावर शेयरिङकै लागि कुराकानी भइरहेको बुझिन्छ ।’ उनले एमाले वर्तमान सत्ता गठबन्धन परिवर्तन गर्न पाएको भए हुन्थ्यो भन्ने सोचमा रहेको टिप्पणी गरे ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.