पूर्वराष्ट्रपति यादवले यस्तो बोले, प्रचण्डको कदम 'राष्ट्रघाती'

३ फागुन, काठमाडौं । प्रथम तथा पूर्वराष्ट्रपति रामवरण यादवले ढुंगागिटी उत्खनन र निकासी खुला गर्ने सरकारी तयारीलाई ‘राष्ट्रघाती’ कदम भनेका छन्। सरकारी तयारीको सर्वत्र विरोध भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘नेपाल अहिले नै ढुंगा, गिटी, बालुवा र माटो बेच्नुपर्ने अवस्थामा पुगेको छैन। देश बनाउने थुप्रै सम्भावना छन्’, निजी सचिवालयमा उनले भने। चुरे उत्खनन र निकासी खुला भए मुलुकमा प्राकृतिक विनाश र विपत्तिको शृंखला सुरु हुने बताए।
‘अन्तिम अवस्थामा सम्हालिने कोसिस भइरहेका बेला ६० प्रतिशत जनसंख्याको जीवन नै ध्वस्त हुने गरी यस्तो निर्णयको तयारी गर्नु अत्यन्त दुःखद कुरा हो। म प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्छु, यस्तो निर्णय गर्नुभयो भने तपार्इंलाई भावी सन्ततिले धन्यवाद दिने छैनन्।’
प्रधानमन्त्री दाहालले क्रसर उद्योग सञ्चालन र उत्खनन मापदण्ड खुकुलो पार्ने नाममा प्राकृतिक स्रोतको निर्यात, क्रसर उद्योग सञ्चालन र उत्खनन खुकुलो पार्ने गरी प्रस्ताव गर्न वातावरण मन्त्रालयलाई दबाब दिएपछि यादवले यस्तो प्रतिक्रिया दिएका हुन्। सरकारले पुनर्निर्माणमा निर्माण सामग्री अभाव रहेको गलत सूचना प्रवाह गरिरहेको छ। साथै, उत्खनन गर्दा वातावरण संरक्षण सम्बन्धी कानुन पनि खुकुलो बनाउने तयारी गरिरहेको छ।
प्रधानमन्त्री कार्यालयले अहिलेसम्म यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन। ‘मैले विगत केही दिनदेखि पत्रपत्रिका नियमित हेरिरहेको छु। प्रधानमन्त्री आफैं यो निर्णय गराउने पक्षमा हुनुहुन्छ भन्दा निकै दुःख लागेको छ। यो प्रधानमन्त्रीको दुरगामी कदम कदापि हुनेछैन’, उनले भने।
सात वर्षअघि यादव पहिलो राष्ट्रपति भएपछि तराई–पहाडका सर्वसाधारणबीच सामाजिक सद्भाव बढाएर चुरे संरक्षण गर्ने कार्यक्रम अघि सारेका थिए। उनले चुरेमा बसोबास गर्दै आएका सर्वसाधारण र तराईवासीबीच सुमधुर सम्बन्ध पनि स्थापना गर्ने तथा चुरेको वनजंगल र खोलानालालाई प्राकृतिक रुपमा व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम घोषणा गरेका थिए।
यादवले चुरे संरक्षण विकास समितिले व्यवस्थापन जिम्मा लिएर उत्खननका नियम र मापदण्ड बनाइसकेको अवस्थामा सरकारले हस्तक्षेप गरेको बताए। उनले ढुंगागिटीका राष्ट्रिय र विदेशी व्यापारीको गलत सुझावमा नपर्न प्रधानमन्त्रीलाई पटक–पटक नागरिकमार्फत आग्रहसमेत गरे।
‘चुरे तपाई र मेरो सम्पत्ति मात्र होइन, यो तराईका ५१ प्रतिशत र चुरेका १३ प्रतिशत जनताको सम्पत्ति हो। काठमाडौंमा बसेर यस्तो निर्णय गर्नु गलत हुनेछ’, यादवले भने। उनले यसले चुरे सकियो भने महाभारत सकिन्छ र त्यसको असर हिमाली क्षेत्रमा पनि पर्ने बताए।
उत्पादनशील क्षेत्र तराई मरुभूमीकरणको अन्तिम बिन्दुमा पुगेपछि सरकारले वातावरण चुरे संरक्षण क्षेत्र, ढुंगा, गिटी उत्खनन र क्रसर उद्योग सञ्चालन प्रतिबन्ध लगाएको थियो। यसलाई जोगाउन राष्ट्रपति चुरे संरक्षण विकास समिति गठन गरेको स्मरण गर्र्दै यादवले भने, ‘अहिले आएर प्रधानमन्त्रीलाई के आपत्ति आइलाग्यो, पछाडि फर्कन खोज्दै हुनुहुन्छ।’
उनले सरकारले नै पछि फर्केर निर्णय गर्दै जाने हो भने यो देशको माटो कसले जोगाउने भनेर निराशा व्यक्त गरे। ‘विगतका सकारात्मक निर्णयले भर्खर चुरे हराभरा हुँदै थियो। त्यहाँका खोलानालामा पानी देखिन थालेको थियो। अब आएर फेरि पहिलेकै अवस्थामा फर्काउने हो भने त्यो विनाश रोक्न सक्ने कोही हुँदैन। अप्रत्यक्ष रुपमा विदेशी व्यवसायी हाबी भए भने त्यसलाई कसैले नियन्त्रण गर्न सक्दैन’, यादवले भने। आजको नागरिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.