फेसबुकमा युवतीका तस्बिर राखेर यौन धन्दा चलाउने पक्राउ..


काठमाडौं : सामाजिक सञ्जाल फेसबुक दुरुपयोग गर्ने ललितपुरका ३६ बर्षीय सुरज बस्नेतलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
सुरजले अश्लिल नाममा फेसबुक अकाउन्ट खोल्ने र त्यसमा युवतीका तस्बिर र उनीहरुलाई सम्पर्क गर्न सकिने फोन नम्बर राख्ने गरेको प्रहरीले सार्वजनिक गरेको छ।
केही दिनअघि एक युवतीले आफूलाई धेरै ठाउँबाट विभिन्न व्यक्तिले बारम्बार फोन गर्ने गरेको र यौन सम्पर्कको प्रस्ताव राख्ने गरेको भन्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
यसक्रममा प्रहरीले ती युवतीलाई फोन गर्ने ललितपुर ग्वार्कोका २१ बर्षीय सागर धिताललाई पक्राउ गरेको थियो । धितालले आफूले ती युवतीको नम्बर एउटा फेसबुक अकाउन्टमा भेटेको र त्यसमा यौन सम्पर्कका लागि सम्पर्क गर्न सकिने विवरण उल्लेख भएको बताएपछि प्रहरीले उक्त अकाउन्टमा निग्रानी बढाएको थियो ।
प्रहरीले यसक्रममा सुरजलाई पक्राउ गर्न सफल भएको हो । सुरजले विभिन्न अश्लिल नाममा तीन वटा फेसबुक अकाउन्ट खोलेको र त्यसमा उनले युवतीका तस्बिर र उनीहरुलाई सम्पर्क गर्न सकिने नम्बर राखेको महानगरीय अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले जानकारी दिए ।
‘साथीभाइबाट युवतीको नम्बर लिने, नचिनेका युवतीसँग फेसबुकबाटै नम्बर माग्ने, उनीहरुसँग यौन सम्पर्कका प्रस्ताव गर्ने र नमान्नेको तस्बिर र नम्बर अश्लिल नामको अकाउन्ट खोलेर त्यसमा राखि दिने रहेछन्’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अमात्यले भने ।
उनले २३ युवतीको तस्बिर र नम्बर फेसबुकमा राखेको प्रहरीले जनाएको छ । केही वर्ष अमेरिकामा बसेका सुरजले अमेरिकामा यो काम सामान्य भएकाले नेपालमा पनि गरेको प्रहरी समक्ष बताएका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.