डिआइजी नवराज सिलवाल यसरी बन्दैछन् अर्को ज्ञानेन्द्र शाह !


काठमाडौं, २५ माघ । एउटा समय थियो राजा ज्ञानेन्द्रको गलत कदम विरुद्ध कुनै ‘मिडिया’ जब बोल्थे तब ‘सेन्सरसिप’ लाग्थ्यो । मिडिया हाउसमाथि तत्कालिन शाही नेपाली सेनाको बुट बजारिन्थ्यो । स्वतन्त्रता पूर्वक अभिव्यक्ती दिन पाउँने मिडियामाथि सेनाको पूर्ण नियन्त्रण हुन्थ्यो । त्यो समय तत्कालिन शाही शासन थियो । त्यो शासन व्यवस्था विरासत बनिसकेको छ । त्यो तन्त्र विदाभएपछि काठममाडौं शहरको रुपमा फेरबदल आइसकेको छ । विगत बनिसकेको कालो विरासतको झल्को दिनेगरी नेपाल प्रहरीका एक डिआइजी यो शहरमा ठीक त्यसैगरी शासन गरिरहेका छनक दिएका छन् ।
डिआइजीको गलत कारोबारबारे समाचार प्रकाशन गरेकै भरमा मिडिया हाउसहरुमाथि अघोषित रुपमा ‘सेन्सरसिप’ लगाइएको छ । दियोपोस्ट डटकम, न्युजसेवा डटकम, आर्थिकन्युज डटकम लगायत अनलाईन पत्रिकाहरुमाथि कथित नेपाल प्रहरीको्े हवाला दिएर नेपाल दूरसञ्चार प्राधिकरणले लगाएको ‘सेन्सरसिप’ले नेपाली पत्रकारिता जगतलाई झट्कारेको छ । मुलुकमा अर्कै केही ‘तन्त्र’ आएको आभास हुन थालेको छ ।
त्यतिमात्रै होइन स्वतन्त्रतापूर्वक बोल्न पाउँने नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गरिएको छ । प्रेस स्वतन्त्रतालाई ‘मजाक’ बनाइएको छ । कानुन हातमा हुनेहरु गरेको पदीय दुरुपयोगको कालोपर्धा भित्र लुकेको कारोबार बाहिरिएसँगै उनले मिडिया हाउसमाथि ‘हमला’ शुरु गरे । बर्दिको आडमा गरिएको यो आक्रमणको जति विरोध गरेपनि कम हुन जान्छ ।
बर्दिको आडमा नेपाल प्रहरीका तत्कालिन एसएसपी तथा हालका सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले एक नागरिकमाथि गरेको अत्याचारबारे प्रमाण सहितको समाचार प्रहरी अधिकारीको एउटा देखिएको गतिविधि हो ।
त्यसरी गरिएको कारोबारको रहस्य खोलेकै आधारमा मिडिया हाउसमाथिको ‘सेन्सरसिप’ अख्तियार दुरुपयोगको प्रमाण हो । यो घटनाले हाम्रो राज्य फेरी फाँसीवादी अभ्यास तिर जाँदैछ भन्ने संकेत समेत गरेको छ । त्यतिमात्रै होइन समाचारकै कारण मिडिया हाउस नै बन्द गराउँने यो हर्कतले उनको ‘अबैध धन्दा’बारे आएको समाचार सत्यभएको पुष्टि पनि गर्दछ । यदि उनले गल्ति गरेका थिएनन् भने सायद मिडियाका समाचार विरुद्ध तथ्य सहित खण्डन गर्थे होलान् या प्रमाण सहित मिडिया नियमक निकाय तर्फ उजुरी गर्न पुग्थे होलान् । तर, उनले त्यसो गरेनन् सिआइबी रबाफ देखाइदिए । फलस्वरुप दियोपोस्ट डटकम, न्युजसेवा डटकम, आर्थिकन्युज डटकममाथि प्रहरीको हवाला दिँदै दुरसञ्चार विभागमा पत्र काटियो । सोही पत्रको आधारमा केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सञ्चारमाध्यम प्रति प्रतिबन्ध गराए ।
के अब आवाज उठाउनेहरुमाथि अभिव्यक्तिमाथि ताल्चा लगाउने अभियान शुरु भएको हो ? सिआइबी प्रमुख भएकै आधारमा उनलाई नागरिकले प्रश्न गर्न पाउँदैनन् ?
अनलाइन पत्रिका बन्द गर्न नेपाल दुरसञ्चार प्राधिकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई कारक बनाइएको छ । तर, प्रहरी संगठनका प्रमुखले यसरी मिडिया बन्द गराउँनु प्रहरीको नियत नभएको र गराउँने व्यक्ति सजायको भागिदार हुनुपर्ने बताएका छन् । अर्यालको यो भनाई ‘मिडिया प्रोपोगान्डा’ मात्रै हो या व्यबहारमा लागु हुन्छ समयको गर्भभित्रै छ । गर्भ भित्र रहेको प्रश्नहरुको उत्तर दिने समयले पनि अब नेटो काट्दैछ । समयमै उनले यसको जवाफ ब्यबहारमा दिए भने अर्याल प्रहरी प्रमुख भएको भान हुनेछ नत्र एक निरिह पात्र मात्रै । तव मात्रै बर्दिको आडमा ‘दादागिरी’ गर्नेहरुमाथि लगाम लाग्नेछ ।
त्यसो त डिआइजी सिलवाल नेपाल प्रहरीको प्रमुख पदमा पुग्ने दौढधुपमा छन् । बरियता क्रममा पहिलो नम्बरमा रहेको बताउँदै आएका उनको क्षमता नभएको भने होइन । केही चर्चित अनुसन्धान पनि उनले गरेकै हुन् । तर, एउटा अनुसन्धान क्षमताले मात्रै प्रहरी नेतृत्वको लागि सक्षम हुनसक्दैनन् । आफू बारे आएको तथ्य सहितको समाचारको तथ्य सहित खण्डन गर्नुको सट्टा मिडियामाथि हमला गर्ने उनी कति स्वच्छ छन् भन्ने प्रश्न समेत उठेको छ । या उनले भोली प्रहरीको नेतृत्व नै सम्हाल्ने अवस्था आए मिडिया कसरी सुरक्षित हुनसक्छन् ? उनै सिलवालबाट पीडित बनेका गुनबहादुर थापा शम्भू जस्ता हजारौँ नागरिकको अवस्था के होला ? नागरिकको अभिव्यक्ति स्वतन्त्रता कसरी सुरक्षित होला ? यी गम्भिर प्रश्नहरु सिलवाल अघिल्तिर शालिक झैँ उभिएको छ ।
सिलवालबाट ऋण लिएकै कारण पीडित बनेका गुनबहादुर थापा शम्भूको परिवारको व्यथा यो राज्यले सनिरहेको छैन । त्यस्ता हजारौँ गुनबहादुरहरु छन् जसको समय क्रममा खोजी हुँदैजाला । तर, उनीहरुले न्याय नपाएको देशमा उनै सिलवाललाई प्रहरी संगठनको जिम्मा दिइयो भने प्रहरी संगठन कस्तो बन्ला ? प्रहरी संगठन भित्र ‘मिटरब्याज धन्दा’को विकास होला की विनास ? यी र यस्ता धेरै प्रश्नहरुको चाङमा सिलवाल उभिएका छन् । यद्धपी उनका प्रतिस्पर्धीहरु पनि यस्ता प्रश्नहरुबाट अछूतो रहन सक्दैनन् ।
यतिबेला किन आयो सिलवालको मिटर ब्याज काण्ड ?
तत्कालिन एसएसपी तथा हालका सिआइबी प्रमुख सिलवाल र गुनबहादुर थापाको कारोबार बिल्कुल नयाँ ‘हटकेक’ भने होइन । यो विवादबारेको समाचार पटकपटक केही पत्रिकामा समेत प्रकाशित भएको थियो तर केही दिग्गज व्यक्तिहरुले समेत यो अडियो सहितको समाचार किन यतिबेला सार्वजनिक भयो भनेर प्रश्न गरेका छन् । यो प्रश्न जायज पनि हो । दियोपोस्ट डटकम प्रकाशनमा आएको झन्डै एक वर्ष पुग्दैछ । दियोपोस्ट सञ्चालन नहुँदै हामीले यो समाचार प्रकाशन गर्न सक्दैन थियौँ । यदि हामीभन्दा पुराना मिडियामाथि यो प्रश्न गरिएको भए न्याय हुनसक्यो । अडियो प्रमाण सहित ५ पटकसम्म गुणबहादुर थापाले पत्रकार सम्मेलन गर्दा किन समाचार बनेनन् ? ठूला भनिएका मिडियाले यो आवाज उठाएको भए यतिबेला समाचार बन्ने थिएन । न त दियोपोस्टमाथि हमला नै हुन्थ्यो । तर, पीडित नागरिकको आवाज उठाउँदा हामीमाथि हमला हुन्छ भने हामीलाई यस्ता हजारौँ हमलाहरु स्विकार्य छन् । हामी उनीहरुका लागि जन्मिएका हौँ जसको आवाज मिडियामा आउँदैन । गुणबहादुर थापा शम्भू जसले ५ पटक पत्रकार सम्मेलन गर्दा समेत मिडिया मौन छ । केही सिमित अनलाईन मिडिया बाहेक अन्य मिडिया किन चुप छ ?
नवराज सिलवालको विराेध की प्रवृतिकाे ?
नवराज सिलवाल प्रहरीका डिआइजीपी मात्रै होइनन् उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हुन् । यस अर्थ उनी एउटा व्यक्ति मात्रै होइनन् संस्था पनि हुन् । प्रहरी नेपाली जनताको करबाट पालिएको सम्पत्ति हो । उनले गरेका हरेक क्रियाकलापमाथि जनताको निगरानी हुनु स्वभाविक हो । अझ मिडियाको आँखाबाट सार्वजनिक व्यक्तित्वहरुमाथि निगरानी हुुँनुलाई सर्वव्यापी मानिन्छ । उनको गल्ती औँल्याउँनु मिडियाको व्यावसायीक धर्म हो । मिडियाले निभाएको धर्मलाई व्यावसायीक रुपमा नबुझी व्यक्तिगत रिसिइबी वा इगोको रुपमा बुझीयो भने के होला ? हामीले सिलवाल र गुनबहादुर थापा शम्भूको कारोबारको अडियो प्रमाण मात्रै प्रकाशन गरेका छैनौं सिलवालको हस्तलिखित कागजात समेत सार्वजनिक गरेका छौँ । यदि त्यो नक्कली भए हामीलाई कारबाही गरियोस् । सक्कली भए सिलवालमाथि कारबाही होस् । तर, उनी आफैको नक्कली अडियो कसरी प्रकाशनमा आउँन सक्छ ? सिआइबी प्रमुखको नक्कली अडियो आउँदा किन उनले दोषी सार्वजनिक गर्न सकेका छैनन् ? आफ्नो कार्यकक्षमा भेट्न आएका पीडितको परिवारसँग भएको प्रमाण माग्दै बार्गेनिङ गर्नुको कारण के हो ? यी प्रश्नहरु सिलवालमाथि होइन उनी आबद्ध प्रहरी संगठनमाथि तेर्सिएका छन् । उनी जस्ता प्रहरी अधिकृतलाई बढुवा गर्ने निकायमाथि यी प्रश्नहरु किन डम्फू बजाएर नाचिरहेका छन् । मिडियाको प्रश्न सिलवाललाई होइन प्रणालीलाई हो । तर, अफसोस् यी प्रश्नहरुको उत्तर दिनुपर्ने सिलवाल मिडियाको आवाजमाथि लगाम लगाउँदैछन् । पीडितको चित्कारमाथि प्रतिबन्ध लगाउँने कुचेष्ठा गर्दैछन् । यसले उनलाई बलशाली होइन कमजोर सिपाहीको सुचक तिर धकेल्छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.